काठमाडौं खबर अशोज ६, २०८१
काठमाडौं । वाग्मती नदी तल मात्रै सफा गर्दा भनेजस्तो उपलब्धि हासिल हुन नसकेकोमा सरोकारवालाहरुले चासो दिएका छन् । वाग्मती सफाइ महाअभियानको पाँच सय ९३ औँ हप्ताका अवसरमा शनिबार सुन्दरीजलमा आयोजित नदी सफाइ एवं सम्वाद कार्यक्रमका वक्ताले सो विषयमा ध्यानाकर्षण गराएका हुन् ।
पाँच सय ९३ हप्ताअघि सरकारीस्तरबाट सुरु भएको यो कार्यक्रममा पशुपति र सोभन्दा तल्लो भेगमा मात्रै केन्द्रीत हुने गरिएको थियो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं वातावरण तथा जलवायु परिवर्तन विभाग प्रमुख कल्याणकुमार गुरुङले संविधानको धारा ३० ले स्वच्छ वातावरणमा बाँच्न पाउने हक दिएकाले यसको कार्यान्वयनका लागि सफाइ स्रोतमै गरिनुपर्ने बताए । वाग्मतीको मुहानदेखि नै सफाइका लागि पार्टीले कार्यक्रम बनाउने जानकारी पनि उनले गराए ।
बीपी संग्रहालयमा भएको कार्यक्रममा सङ्ग्रहालय समितिका अध्यक्ष परशुराम पोखरेलले वाग्मती वाग्द्वारदेखि नै फोहर भएकाले मुहानदेखि नै सफाइ अभियान चलाउनुपर्ने बताए । असार १ गते वाग्द्वार क्षेत्रमा सफाइ गरी तीन बोरा फोहर सङ्कलन गरिएको पनि उनले सुनाए । वाग्द्वारदेखि नै वाग्मती सफाइ गर्ने गरी आगामी कार्यक्रम अघि बढाइनुपर्नेमा पोखरेलको जोड थियो ।