काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका ८ वटा वडालाई बालश्रम मुक्त घोषणा गरिएको छ । शनिबार वडा नं १० लाई पनि बालश्रम मुक्त घोषणा गरेसँगै यसको संख्या ८ पुगेको हो । ‘बालबालिकालाई श्रममा प्रयोग नगरौँ, बालश्रममुक्त समाजको निर्माण गरौँ’ भन्ने नारासहित हालसम्म चन्द्रागिरिका वडानं ३ थानकोट, वडा नं ५किसिपिडि, वडा नं ६ महादेवस्थान, वडा नं ७ चेकपोष्ट , वडा नं ८ मातातीर्थ, वडा नं ११ सतुंगल र वडा नं १४ नयाँ नैकापलाई ‘बालश्रममुक्त वडा’ घोषणा भइसकेको नगरपालिकाले जनाएको छ ।
हालसम्म नगरका १५ वडा मध्ये विभिन्न आठ वडालाई ‘बालश्रममुक्त वडा’ घोषणा गरिएका छन् । नगरपालिकाले बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधि २०७५ को लक्ष्यअनुसार बालश्रम निवारणको लागि बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधि २०७७ अवलम्बन गरेको छ । साथै, नगरपालिकाले बालश्रम निवारणसम्बन्धी कार्ययोजना बनाई बालश्रम मुक्त नगर तथा वडा निर्माणका लागि विविध कार्यक्रम सञ्चालन गरिरहेको छ ।
बालबालिकासम्बन्धी बालमैत्री स्थानीय शासन कार्यविधि, २०६८ ले विभिन्न ३९ सूचक पूरा गरेको अवस्थामा बालश्रम घटेको हुनुपर्ने उल्लेख छ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले आज यहाँ आयोजित कार्यक्रममा चन्द्रागिरि –१० लाई ‘बालश्रम मुक्त वडा घोषणा’ गर्दै बाश्रम निवारणका लागि नगरपालिकाले उच्च प्राथमिकता दिँदै आएको र घोषणा पछिको दीगोपनमा काम गर्नुपर्छ भने ।