काठमाडौं खबर अशोज ३, २०८१
काठमाडौं । काठमाडौंको दरबारमार्गमा संविधान दिवसको दिन आयोजना गरिएको कन्सर्टमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका समर्थकमाथि हातपात भएको छ । बिहीबार अपराह्न ४ बजेतिर बालेनको पक्षमा नारा लगाएलगत्तै अर्को युवाको समूहले एक युवामाथि कुटपिट गरेको प्रहरीले जनाएको छ।
सम्भावित दुर्घटनालाई ध्यानमा राख्दै प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको थियो । अपराह्न ४ बजेबाट शुरू भएको नेसनल डे कन्सर्टमा सहभागी ती युवाले बालेनको नाम लिएर नारा लगाएका थिए । कुटपिट गर्ने व्यक्तिहरूको पहिचान हुन नसकेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । पाँच जनाको समूह ती युवामाथि जाइलागेपछि रोक्ने प्रयास भएको थियो । कुटपिटलगत्तै ती युवाहरू त्यहाँबाट भागेका थिए ।
पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीसँग मतभेद बढेपछि बालेन समर्थक र ओली समर्थकबीच बेमेल सिर्जना भएको छ । गत असोज १ गते इन्द्रजात्राको दिन पनि बालेन समर्थकले बालेनको तस्वीर अंकित टिसर्ट लगाएर हिँडेपछि प्रहरीले उनीहरूलाई सुरक्षाका लागि नियन्त्रणमा लिएको थियो ।