काठमाडौं । काठमाडौं उपत्यकामा प्रमुखरुपमा मनाइने प्रसिद्ध ठूलो पर्व इन्द्रजात्राको मुख्य दिन, २०७९ साल अर्थात् आजभन्दा ठीक दुई वर्षअघि वसन्तपुर दरबार क्षेत्रमा ठूलो संख्यामा दर्शकको भीड थियो । क्षमापूजा सकेर राज्यका प्रमुख पदमा आसिन व्यक्तिहरूले हनुमानढोकाको गद्दी बैठकको बाहिरी कौशीबाट दर्शन गर्ने बेला भएको थियो । राष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायत उच्चपदस्थहरूलाई इन्द्रजात्रामा सहभागी हुन निम्तो गरिन्छ। तत्कालीन समयमा मर्यादाक्रमअनुसार सबै पदका व्यक्तिहरू आउँदा माहोल सामान्य थियो । तर जब महानगरका प्रमुख र उपप्रमुख आउने पालो आयो तब माहोल एक्कासी जुरुक्क उठेर आयो । उक्त क्षेत्रमा बलेनको समर्थनहरुले बालेन, बालेन, बालेन जिन्दाबाद, हाइ हाइ बालेन जस्ता हुटिङ गर्दै नारा लगाएका थिए ।
तर दुई वर्षपछि यो माहोल एकाएक बदलिएको छ । त्यो बेलाको हाइहाई पाएका बालेन यसपालि भने इन्द्र जात्रामा उपस्थित नै हुन सकेनन् । मंगलबारको जात्रामा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार दिउँसो सवा २ बजे वसन्तपुर जाने गएका थिए । तर ओलीसँग टक्कर लिने बालेन भने यस जात्रामा सहभागी भएनन् । अतिथि र प्रमुख अतिथिलाई स्वागत गर्नुपर्ने काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) भने इन्द्रजात्राको कार्यक्रममा सरिक किन भएनन् ? भन्ने धेरैलाई जिज्ञासा लागेको हुन सक्छ ।
पछिल्लो समय नदी किनारामा २०/२० मिटरको मुद्दा कार्यान्वयनमा ल्याएका बालेन यसै पनि नदी किनारका बासिन्दाको नजरमा तारो बनिरहेका थिए । त्यसैमाथि एमाले अध्यक्ष ओलीलाई बारम्बार प्रहार गर्दै आएका बालेनलाई एमालेले पनि बेइज्जत गर्ने सही मौका यही इन्द्रजात्रालाई देखेको थियो । एमालेको पार्टी पंक्तिमा उनीविरुद्ध कालो झण्डा वा उनीविरुद्धको नारा लगाउने रणनीति पनि बनेको थियो । तर उनी आएनन् । अघिल्लो सोमबार भारत गएका शाह अहिले पनि उतै छन्। मेयर शाहका प्रमुख स्वकीय सचिव भूपदेव शाहका अनुसार उनी एक-दुई दिनमा नेपाल फर्कने कार्यक्रम छ।
केही दर्शकहरू बालेनको फोटो अंकिट टिसर्ट लगाएर जात्रा हेर्न गएका थिए । प्रहरीले उनीहरूको सुरक्षालाई ध्यानमा राख्दै उनीहरूलाई सुरक्षित स्थानमा लगेको थियो ।