काठमाडौं खबर भदौ ३१, २०८१
काठमाडौं । काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार सरुवा भएका छन् । महानगर प्रमुख बालेन शाहले छानेर ल्याएका परियार सात महिनामा नै सरुवा भएर सञ्चार तथा सूचना मन्त्रालय पुगेका छन् ।
मन्त्रिपरिषद् बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सरोजप्रसाद गुरागाईँलाई काठमाडौंको प्रमुख कार्यकारी बनाएर पठाएको छ । अन्य ४० जना सहसचिव सरूवा गरेको भए पनि धेरैको चासो भने महानगरको कार्यकारी सरुवामा देखिएको छ ।
तत्कालीन प्रशासकीय अधिकृत वसन्त अधिकारीमाथि महानगर प्रमुख शाहले छानबिन गर्न लगाएपछि संघीय सरकारले उनलाई झिकेर परियारलाई पठाइदिएको थियो । परियारको बालेनसँग ट्युनिङ मिलेको पनि थियो । जसअनुसार राष्ट्रिय चर्चा र विवादका केही कामहरू पनि भए । तर प्रधानमन्त्री केपी शर्मा ओलीसँगको विवादका कारण उनले रोजेर ल्याएका परियारलाई सरुवा गरिएको हुन सक्ने आकलन गरिएको छ ।
अर्कोतर्फ बालेनसँगको ओलीको विवादले आफूलाई पछि अप्ठेरो हुने देखेर परियार आफैँले सरुवा मागेको पनि हुन सक्ने अर्को सम्भावना पनि रहेको देखिन्छ । उनी सबैभन्दा कान्छा सहसचिव हुन् । सचिव र लाइन मिलेको खण्डमा मुख्यसचिव समेत बन्ने सम्भावना बोकेका उनी शक्तिशाली दल एमालेसँग दुस्मनी साँध्नुभन्दा बरू सरुवा माग्न राम्रो सम्झिएर उनले नै सरुवा मागेको पनि हुन सक्ने सम्भावना पनि नभएको होइन ।
तर एउटा स्पष्ट के छ भने प्रमुख प्रशासकीय अधिकृत सात महिनामा नै सरुवा हुनुको पछि ओली र बालेनबीचको विवादको साइड इफेक्ट भने हो भन्नेमा कुनै शंका मान्नु पर्दैन ।