काठमाडौं । आइतबार साँझ काठमाडौंमा आएको भारी वर्षासँगै विष्णुमति किनारमा आएको बाढीका कारण टोखामा एक जना बेपत्ता भएका छन् । राति पौने ९ बजे टोखा नगरपालिका-८, रमणबस्तीस्थित विष्णुमती पुलबाट चिप्लिएर लमजुङका ४२ वर्षीय रामचन्द्र खड्का बेपत्ता भएका हुन्। पुलबाट चिप्लिएर खसेपछि बेपत्ता भएको प्रहरीले जनाएको छ।
त्यस्तै, आइतबार साँझै अनामनगरस्थित धोबीखोलाले ट्याक्सी बगाएको छ । बागमती, विष्णुमती र धोबीखोलाका दायाँबायाँका सडकसम्मै पानी आएका थिए । मदन भण्डारी कलेजअगाडिको पुलबाट एउटा ट्याक्सी धोबीखोलामा खसेको प्रहरीले जानकारी दिएको हो । बगेको ट्याक्सीबाट चालक चितवन, कालिका नगरपालिका–७ घर भएका ३३ वर्षीय उर्गेन लामालाई प्रहरीले उद्दार गरेको छ ।
त्यस्तै, काठमाडौं उपत्यकासहित कोसी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा दिउँसो भारी वर्षाको पनि सम्भावना रहेको छ। कोसी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।