काठमाडौं । नेपाल योग खेलकुद सङ्घ, बागमती प्रदेशको आयोजनामा यही भदौ २९ गतेदेखि ‘दोस्रो उपत्यकास्तरीय योग खेलकुद प्रतियोगिता’ हुने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष केदारनाथ बस्ताकोटीले तारेश्वर नगरपालिकाको सहकार्यमा योगलाई खेलकुदसँग जोड्नका लागि प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।
प्रतियोगिता तारकेश्वरमा हुने छ । उनकानुसार योग प्रशिक्षण गराइरहेका विभिन्न विद्यालय तथा योग खेलाडी गरी दुई सय ३२ र एक सय ३० सामूहिक गरी तीन सय ६२ जना सहभागी हुनेछन् । प्रतियोगितामा एकल प्रतिस्पर्धा र सङ्गीतमय (रिदमिक) सामूहिक योगासन प्रतिस्पर्धा पनि हुनेछ । प्रतियोगितामा नौ वर्ष उमेर मुनिदेखि ५० वर्ष उमेर माथिका खेलाडीले समेत सहभागिता जनाउने छन् ।
आसनलाई खेलको रुपमा विकास गर्नका लागि प्रतियोगिता गरिएको अध्यक्ष बस्ताकोटीले बताए । उनकानुसार नेपालमा योग खेलकुदलाई प्रवर्द्धन गर्न नेपालमै विभिन्न स्तरका तीन वटा दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता, पाँच वटा राष्ट्रिय प्रतियोगिता, एउटा प्रदेशस्तरीय र एउटा उपत्यकास्तरीय प्रतियोगिता भइसकेको छ । नेपालमै अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताको तयारी गरिएको पनि अध्यक्ष बास्ताकोटीले जानकारी दिए ।
नेपालको मौलिक खेलको रूपमा रहेको योगासन खेलले मानिसलाई योगमा जोड्ने विश्वास गरिएको छ ।