काठमाडौं । काठमाडौंमा उपलब्ध पिउने पानीमा कोलिफर्म भेटिएको छ । काठमाडौं महानगरपालिकाले गरेको अनुगमनमा तीन वटा कम्पनीको जारमा दिशाजन्य पदार्थ कोलिफर्म भेटिएको हो । जानकारहरूका अनुसार मानव शरीरका लागि अत्यन्तै जोखिमयुक्त हुने ‘कोलिफर्म’ले विभिन्न समस्या निम्त्याउने छ ।
महानगरपालिकाका अनुगमन निरीक्षक डा अवधेश झाकाअनुसार विभिन्न दश कम्पनीको जारका पानी परीक्षण गरिएकोमा एक्वा पिस, एक्वा टोखा र एक्वा त्रिदेव कम्पनीको जारका पानीमा कोलिफर्म भेटिएको हो । महानगरपालिकाले अनुगमनका क्रममा पानी सङ्कलन गरी परीक्षणका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को प्रयोगशालामा पठाएको थियो ।
परीक्षणका क्रममा पानीमा ‘कोलिफर्म’ देखिएको हो। पानीमा ‘कोलिफर्म’ को मात्रा शून्य हुनुपर्नेमा परीक्षण गरिएका जारका पानीमा प्रतिसय मिलिलिटरमा ३० देखि ८० फोकलसम्म कोलिफर्म भेटिएको थियो।