काठमाडौं । दुई दिनअघि सुन्दरीजलमा भेटिएको शवको पहिचान भएको छ । प्रहरीले सो घटनामा मृतक महिलालाई उनकै प्रेमीले हत्या गरेको प्रारम्भिक निष्कर्ष निकालेको छ । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा मृत फेला परेकी ती युवतीसिरहा घर भई काठमाडौंको बसुन्धारा बस्दै आएकी राम दुलारी रहेको प्रहरीको भनाइ छ ।
उनको हत्या आरोपमा प्रहरीले सर्लाही चक्रघट्टा गाउँपालिका-३ बस्ने वर्ष ४० को रामविनय महरा र सर्लाहीकै बसबरिया गाउँपालिका-५ घर भई हाल बसुन्धारा ३ बस्ने वर्ष २४ का सन्तोष राम महरालाई पक्राउ गरेको छ।
गत बिहीबार सुन्दरीजल घुम्न गएका व्यक्तिले बोक्सेदहको ढुंगाको कापमा मान्छेको खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी वृत्त बौद्ध र जिल्ला प्रहरी परिसर काठमाडौंबाट अनुसन्धान टोली खटिएको थियो । प्रहरी घटनास्थल मुचुल्का गरेर शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाएको थियो । टाउकामा चोट देखिएपछि घटनाको अनुसन्धानलाई थप तीव्रता दिएको प्रहरीले राम दुलारीको हत्या भएको निष्कर्ष निकालेको थियो ।
हत्या आरोपी रामविनय पुलमुनि जुत्ता सिलाउने काम गर्थे भने राम दुलारी मजदुरी गर्थिन् । उनीहरूबीच दुईवर्षदेखि प्रेम थियो ।