काठमाडौं । नेपाली काँग्रेस र नेकपा एमालेका नेताहरूले बुढानीलकण्ठ नगरपालिकाका विभिन्न वडामा गएको पहिरोको अवलोकन गरेका छन् । शनिबार नेपाली काँग्रेसको नेतृत्वमा गएको टोलीले बुनपाका ३ वटा वडामा गएको पहिरो एवं त्यसबाट जोखिममा रहेको घरको अवलोकन गर्दै जोखिम न्यूनीकरणको उपायको बारेमा छलफल गरेका थिए ।
तीन वडामा भएको अनुगमनमध्ये १० नं वडामा प्रदेश सांसदसहित एमाले नेताहरूको पनि सहभागिता रहेको थियो भने अन्य वडामा नेपाली काँग्रेसको एकल सहभागिता रहेको थियो । नेपाली काँग्रेसको टोलीले १० नं वडामा पहिरोको जोखिममा रहेका तीन वटा घरको अवलोकन गरी जोखिम न्यूनीकरणको बारेमा छलफल गरेको थियो भने वडा नं ११ र वडा नं २ मा गएको विभिन्न ठाउँको पहिरोको पनि अवलोकन गरी समस्या समधानबारे छलफल गरेको अवलोकन टोलीका सदस्य मनोज सिग्देलले जानकारी दिए ।
अनुगमन टोलीमा वाग्मती प्रदेशका आन्तरिक मामला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, सांसदहरू मिना पराजुली र जयराम थापाको समेत उपस्थिति थियो । १० नं वडाका वडाध्यक्ष नवराज भट्टराई र वडा सदस्य चन्द्रमान श्रेष्ठ पनि सो समूहमा सामेल भएर अवलोकनमा पुगेका थिए ।
त्यस्तै, नेपाली काँग्रेसको तर्फबाट काठमाडौं ४ प्रदेश ख का सभापति रामप्रसाद लुइँटेल, सचिव मनोज सिग्देन, क्षेत्रीय कोषाध्यक्ष रामविनोद लामिछाने, बुनपा २ का पार्टी वडा सभापति जनक थापा, ११ नं वडा सभापति राधेश्याम कार्की, १० नं वडाका पार्टी सभापति नारदमणि घिमिरे, महासमिति सदस्य भोलानाथ लामिछाने, काँग्रेस नेताहरू शिव भण्डारी, अमित अधिकारी, विश्वनाथ लामिछाने कृष्ण पोखरेल, राजेश दाहाल, सीमा दाहाल, सांसद कार्यालयबाट गोपाल आचार्य, वसन्त श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।