काठमाडौं खबर भदौ २२, २०८१
काठमाडौं । यस वर्षको इन्द्रजात्राको लागि भक्तपुरकबाट लिंगो काठमाडौं ल्याइएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका‐१० स्थित चित्तपोलको सामुदायिक वनबाट काटेर ल्याइएको यःसिं अर्थात् लिङ्गो गएराति काठमाडौं पुर्याइएको केन्द्रीय मानन्धर सङ्घका सदस्य एवं प्रचार संयोजक केके मानन्धरले जानकारी दिए ।
शुभसाइतमा पूजा गरेर छाडेको बोकाले जुन रुखमा छुन्छ त्यही रुखलाई काट्ने प्रचलन छ । रूख काट्नुअघि नेपाली सेनाको श्री शार्दूल जङ्ग गुल्मका गुल्मपतिको नेतृत्वमा चित्तपोल पुगेको गुरूजुको पल्टनले सलामी अर्पण गरेको थियो ।
रूख काटिएसँगै पाँच जनाको गुरूजुको पल्टनले एकैपटक बन्दुक पड्काएर हर्षबढाईं दिएको थियो । भक्तपुरमा यःसिं लिने जानेदेखि काठमाडौँसम्म पुर्याएर ठड्याउने र ढाल्नेसम्मको काममा हनुमानढोका दरबारस्थित श्री शार्दूल जङ्ग गुल्म (नेपाली सेनाको गुरूजुको पल्टन)ले सहकार्य गर्दै आएको छ ।
यही भदौ ३० गते आइतबार बिहान ८ः२६ बजे इन्द्रध्वजोत्थान अर्थात् इन्द्रध्वजासहितको लिङ्गो उठाउने शुभ साइत जुरेको छ । वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधनागरी परम्परागत शैलीमा मनाइने इन्द्रजात्राको लिङ्गो अर्थात् यःसिं भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीको दिन इन्द्रध्वजोत्थानगरी सुरु हुने इन्द्रजात्रा चौथी अर्थात् इन्द्रध्वज आठ दिनसम्म मनाउने गरिन्छ ।