काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पछिल्लो समय चराको प्रजाति बढेको छ । केही समयअघि सार्वजनिक भएको चराहरूको सूचीअनुसार निकुञ्जमा पछिल्लो समय ८० प्रजाति बढेसँगै कुल ३९६ प्रजातिको चरा पुगेको छ ।
निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत लक्ष्मणप्रसाद पौड्यालको नेतृत्वमा वरिष्ठ चराविद् डा. हेमसागर बराल, चरा संरक्षणकर्मी मनशान्त घिमिरे, सञ्जीव आचार्य र हठन चौधरीले लामो समयको अध्ययनपछि सूची तयार पारेको निकुञ्जले जनाएको छ । निकुञ्जले सन् २०१६ पछि सन् २०२१ र २०२२ तथा अन्य समयमा भएका गणना र सर्भेक्षणका क्रममा भेटिएका नयाँ प्रजातिसमेत जोड्दै नयाँ सूची प्रकाशन गरिएको जनाएको छ ।
विश्वमै खतराको सूचीमा रहेको ठूलो खैरो गिद्ध, इम्पेरियल गिद्ध र काश्मीर फ्लाइक्याचर लगायतका चराहरू यहाँ पाइएको छ । लोपोन्मुख स्टेप्पे चील र पल्लास फिस चील, सङ्कटापन्न सेतो गिद्ध, पातलो–बिल गिद्ध र रातोटाउके गिद्ध पनि यहाँ पाइन्छ । साइटिसमा सूचीकृत रहेका ५५ प्रजातिका चरा यस निकुञ्जको अर्को महत्वपूर्ण पाटो हो । साइटिसमा सूचीकृत नेपालमा मात्र पाइने काँडे भ्याकुरको बास यहीँ छ ।
उनका अनुसार यस वर्ष भेटिएको रातो रङको सुन्दर भिनासियस रोजपिन्च नामको नयाँ चरासमेत सूचीमा समावेश गरिएको छ । त्यस्तै नेपालमा मात्र पाइने काँडे भ्याकुरसहित २०२१ र २०२२ मा नयाँ फेला परेको कालो चिल प्रजातिको लाटोकोसेरोसहित गोल्डेन नेप्स फिन्च, स्लेन्डर बिल्ड स्किमिटर ब्याबलर, ग्रे हुडेड वार्बरहोरी थ्रोटेड वार्बलरसहितका चरा शिवपुरीका नयाँ आकर्षण हुन् ।