काठमाडौं खबर भदौ १५, २०८१
काठमाडौं । काठमाडौं उपत्यकामा डेङ्गीको संक्रमण तीब्र भएको छ । स्वास्थ्य सेवा विभागका अनुसार उपत्यकाका तीन जिल्लामा गरी छ सयभन्दा धेरैमा संक्रमण देखिएको हो । जिल्लामा चार सय ६६, भक्तपुर ६२ र ललितपुर ८८ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । वर्षाको बेला पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टै रहने र त्यही लामखुट्टेले टोक्ने भएकाले डेङ्गुको सङ्क्रमण बढेको विभागले जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गी रोगको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नाका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ । सरकारी अस्पतालमा डेङ्गी रोगका बिरामीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी रोगको सङ्क्रमण हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेङ्गी रोगको सङ्क्रमण देखिएको छ । महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालका अनुसार पाँच हजार पाँच सय ८९ जनामा डेङ्गी रोगको सङ्क्रमण देखिएको छ । यस्तै, तीनजना डेङ्गी रोगको सङ्क्रमणका कारणले निधन भइसकेको छ । पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि टोकेपछि डेङ्गु रोग लाग्दछ ।