काठमाडौं खबर भदौ १४, २०८१
काठमाडौं । बुढानीलकण्ठ युथ सर्कलले हरेक महिना समसामयिक राजनीतिक परिघटनाबारे छलफल गर्न आयोजना गर्ने चिया संवाद कार्यक्रममा सांसद निमा गिरी र कृष्ण रिजाललाई आमन्त्रण गरिएको छ । बुढानीलकण्ठ नगरपालिका वडा नं. ८ मा आयोजित कार्यक्रमअन्तर्गत् साउन महिनामा नेपाली काँग्रेसका महासमिति सदस्य एवम् तरुण दलका केन्द्रीय सदस्य कृष्ण रिजालले युवा नेतृत्व व्यवस्थापन र संगठन निर्माण विषयमा आफ्नो धारणा राखेका थिए ।
त्यस्तै, भाद्र महिनामा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सह महामन्त्री, दलका सचेतक र प्रदेशमा सांसद निमा गिरीले राजनीतिमा महिला समावेशिता र संगठन निर्माणमा महिलाको भूमिका विषयमा संवाद गरेको युथ सर्कलका सदस्य कृष्ण खत्रीले बताएका छन्। बुढानीलकण्ठ युथ सर्कलले मासिक रुपमा चिया संवाद कार्यक्रम चलाउँदै आइरहेको युथ सर्कलका सदस्य ज्योति केसीले बताएका छन्। युथ सर्कलले हरेक महिना समसामयिक विषयमा छलफल गर्न सम्बन्धित विषयका दिग्गज व्यक्तित्वहरूलाई बोलाएर गर्ने कार्यक्रम २०८० चैत्रदेखि निरन्तर चलिरहेको छ ।
असार महिनामा अतिथिको रूपमा काँग्रेस महामन्त्री गगन थापाका राजनीतिक सल्लाहकार प्रताप पौडेललाई बोलाइएको थियो । कार्यक्रममा स्थानीय बुद्धिजीवी राजनीतिक दलका नेता तथा समाजसेवीसमेत गरी करिब ५० जना उपस्थित भएका थिए । चिया संवादको पहिलो कार्यक्रम गत चैतमा राजनीतिक विश्लेषक शंकर तिवारीको साथमा सम्पन्न भएको थियो । त्यसपछि वैशाखमा प्रदेश सभा सांसद कुन्दनराज काफ्ले. जेठमा महासमिति सदस्य राजु थापा र नेपाली काँग्रेस काठमाडौं जिल्ला सदस्य ईन्द्र बहादुर थापाको साथमा कार्यक्रम सम्पन्न भएको थियो ।