काठमाडौं खबर भदौ १२, २०८१
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको रोल खेलेको चलचित्र नमेटिने घाउ ठूलै तामझामका साथ नेपाली सिने जगतमा आएको थियो । पुराना अभिनेता रमित ढुंगानाले निर्माण एवं निर्देशन गरेको चलचित्रमा केपी शर्मा ओलीको सहभागिताले झनै चर्चा बटुलेको थियो । सामाजिक सञ्जालमा जति चर्चा बटुले पनि हलमा दर्शक नआइदिँदा चलचित्र फ्लप मात्रै भएन निर्माताको लगानी नै बालुवामा पानी भएको छ ।
हुन त यो चलचित्र गत शुक्रबारदेखि सुरु भएको हो । यसमानेमा दोस्रो हप्तासम्म पुग्दा फिल्म हलको चेन कम्पनी क्युएफएक्सले एउटा सो अझैसम्म पनि राखिदिएको छ । त्यो पनि उपत्यकामा एउटा मात्रै । तर यसले रिलिज भएको हप्ता नै पनि खासै दर्शक पाउन सकेन । दैनिक शो संख्या र प्राइम टाइम, चलचित्र वितरक, चलचित्रको कथा, कलाकार आदिको आधारमा एकदुई दिनको दर्शकको संख्यालाई हेरेर चलचित्र हलले कुन चलचित्रलाई कति सो दिने भन्ने निर्क्यौल गर्छन् । जसलाई ‘वर्ड अफ माउथ’ पनि भन्ने गरिन्छ । चलचित्रको कन्टेन राम्रो भयो भने हप्तौंसम्म चल्छ, राम्रो भएन भने दुई तीन दिनमै पर्दाबाट उत्रिने सामान्य कुरा हो । नमेटिने घाउमा पनि यस्तै भएको छ ।
राजनीतिमा तीन खराब पात्रको रूपमा जनताबाट आलोचित हुँदै आएका ओलीले खेलेको पहिलो चलचित्र नै फ्लप भएपछि भने उनको अलोकप्रियताको थप चर्चा हुन थालेको छ । एउटा सीमित घेराभित्रको भजनमण्डलीमा रमाउने नेताहरूले जनताको अलोकप्रियताको एउटा सूचक यसलाई पनि मान्नुपर्ने हो ।
करिब २ करोड लगानीमा बनेको सो फिल्मले दर्शक नपाउँदा लगानीकर्ता घाटामा परेका छन् ।