काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वार्ड नं ११ कपनमा रहेको पुरानो कृष्ण मन्दिरमा यस वर्षको कृष्णजन्माष्टमी विशेष तामझामका साथ मनाउने तयारी गरिएको छ ।
यसैका लागि मन्दिर परिसर वरपर झिलिमिली बत्तीहरुले सजाएर आकर्षक बनाइएको छ । सोदिन दर्शन गर्न आउने भक्तजनहरूको सुविधा र सहजताका लागि आवश्यक तयारी भइरहेको आयोजनकले जनाएको छ । सो दिन भक्तजनहरुलाई खानेपानी प्रबन्ध, प्रसाद वितरण, सुरक्षा, स्वास्थ्य जाँच र भजनकीर्तन आदि कार्यक्रमहरू हुने कुरा मेला व्यवस्थापनमा अग्रसरता लिइरहेका आधारशीला युवा क्लबका अध्यक्ष सुजन लामाले बताए ।
त्यस्तै, स्थानीय ज्योति केसीले यस वर्ष कृष्ण मन्दिरमा हुन गइरहेको कार्यक्रममा आउनका लागि सम्पूर्ण भक्तजनहरूलाई निमन्त्रणा गरेका छन् ।
२०३२ सालमा स्थापित यो कृष्ण मन्दिरमा हरेक वर्ष जन्माष्टमीमा मेला लाग्ने गर्छ र मेलामा कपन र वरपरका भक्तजनहरूको भीड लाग्ने गर्छ । यस वर्षको जन्माष्टमीको पूजाआजा र मेलालाई विशेष आकर्षक बनाउन मन्दिर व्यवस्थापन समिति र स्थानीय आधारशीला क्लबका युवाहरू विशेषरूपमा सक्रिय भएका छन् ।