पाटन (ललितपुर) । उपत्यकाको सबैभन्दा लामो समयसम्म चल्ने रातो मच्छिन्द्रनाथको रथजात्रा शनिबार सकिएको छ । वर्षा र सहकालका देवताका रूपमा पुजिने मच्छिन्द्रनाथको रथजात्रा सकिएको जानकारी इन्द्र महाराजलाई दिनुपर्ने मान्यता रहिआएको छ । सो जात्रा सकिएको जानकारी दिन शनिबार जोडी भँगेरा उडाएको छ भने सप्तपातल पोखरीमा जोडी माछा छाडिएको छ ।
जोडी भँगेरा उडाउनु र जोडी माछा पोखरीमा छाड्नु अगाडि जात्रा समापनको प्रक्रिया पूरा गर्न बिहानैदेखि बटुकभैरव मन्दिरमा माङ्साहुति यज्ञ गरी ती जोडी भँगेरालाई कथा सुनाइएको थियो ।
गत वैशाख २७ गते बिहीबार रातो मच्छिन्द्रनाथको मूर्तिलाई पुल्चोकमा रथारोहणका गरेसँगै सुरु भएको रथजात्रा साउन २० गते आइतबार भोटो देखाएपछि सम्पन्न भएको थियो । भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङ्गमती पुर्याउनुपर्ने परम्पराअनुसार उक्त कार्य सम्पन्न भएको थियो ।
यो जात्रा काठमाडौँ उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्रा पनि हो । करिब १६ सय वर्षअघि सुरु भएको मच्छिन्द्रनाथको रथजात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना चल्छ ।