काठमाडौ । आज भाद्र कृष्ण पञ्चमीका दिन कागेश्वरी मनोहरा नगरपालिका–४ डाँछीस्थित कोलमती घाटमा बिहानदेखि स्नान गर्नआउने भक्तजनको भीड लागेको छ । यस दिन स्नान गर्दा पाप पखालिएर पुण्य प्राप्त हुने स्कन्द पुराणअन्तर्गतको हिमवत्खण्ड (नेपाल माहात्म्य) लगायत पौराणिक ग्रन्थमा उल्लेख गरिएअनुसार भक्तजनहरूको भिड लाग्ने गरेको हो ।
वाग्मती नदीको तीर वर्णनका क्रममा नेपाल माहात्म्यको १२८ नं अध्यायमा कोलमती तीर्थ र कोलमतीघाटका बारेमा वर्णन गरिएको छ । कोलमतीघाटमा भाद्रकृष्ण पञ्चमीमा स्नान र दर्शन गरेमा करोडौँ गोदान गरेबराबरको फल मिल्ने वर्णन धार्मिक ग्रन्थमा गरिएको छ ।
कोलमती वाग्मतीमा मिसिने घाटलाई कोलमतीघाट भनिन्छ । कोलमती र वाग्मती मिसिने स्थानमा चैलमती मिसिएर त्रिवेणीघाट बनेकाले यस स्थलको महत्व पौराणिक एवं शास्त्रीय ग्रन्थमा वर्णन गरिएको छ । वामन अवतार लिनुभएका भगवान् विष्णुलाई सृष्टिकर्ता ब्रह्माले जल चढाउँदा कपडामा परेर खसेकाले चैलमती नाम रहेको वर्णन ती ग्रन्थमा पाइन्छ । चैलमतीलाई हाल शब्द अपभ्रंश भई चौलमती पनि भनिन्छ । यहाँ ब्रह्माले वामन रूपी भगवान् विष्णुलाई जल चढाउँदा खसेको शिलालाई अहिले पनि चौलनारायणका रूपमा पूजाआराधना गरिन्छ