काठमाडौं । गत साउन साउन ३२ गते हिमताल फुटेर आएको बाढी प्रभावितलाई काठमाडौं महानगरपालिकाले २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । महानगरपालिकाका प्रमुख एवं महानगर विपद व्यवस्थापन समितिका संयोजक बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको बैठकले सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ् ल्हामु गाउँपालिकाको कोषमा २० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
गएको साउन ३२ गते दिउँसो साढे १ बजे खुम्बुको थामेमा हिमपहिरो फुट्दा गेग्रान र ढुला ढुङ्गासहित आएको बाढीले एउटा विद्यालय, एउटा स्वास्थ्य चौकी, २ वटा होटल, १३ वटा घर पूर्ण र १० वटा घर आंशिक रुपमा क्षति भए । ९५० किलोवाट क्षमताको जलविद्युत परियोजनामा क्षति पुर्यायो । फुटेको हिमताल थामे बजारबाट करिब ९ किलोमिटर टाढा छ । यस्तै पद मार्ग भत्किएर थामे र टोकटोकेको आवागमन अवरुद्ध भएको थियो । यस्तै जोरसल्ले र फाक्दिङ्लगायत बस्तीमा जमिन कटान गरेको थियो ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि भएपछि ग्लेसियर पग्लिएर र पर्माफ्रोस्ट पग्लिएर हिमताल विस्फोट भएको बताएको छ । यसको ३९ वर्ष अघि अर्थात् २०४२ साल साउन २० गते थामेको अर्को भाग ४४०० मिटर उचाइमा रहेको दिग च्छो हिमताल फुटेको थियो ।