काठमाडौं खबर भदौ ६, २०८१
काठमाडौं । युवा प्रतिभाको खोजी गर्ने प्रतियोगिता मिस्टर नेपाल २०२४ को फाइनलिस्टमा बुढानीलकण्ठका सत्यम पाठक पुगेका छन् । प्रकृति र वन्यजन्तु संरक्षणको विषयमा काम गर्दै आएका २० वर्षीय पाठक गत जेठमा छनोट भएका देशभरका प्रतिभाशाली युवाहरूलाई पछिपार्दै फाइनलिस्ट बनेका हुन् ।
१८ वर्षदेखि ३२ वर्ष ननाघेका युवाहरूले सहभागिता जनाउन सक्ने यो प्रतियोगिताको आवेदन गत जेठमा खुलेको थियो । विश्वका जुनै कुनामा रहेका ५ फिट ७ इन्च माथि उचाइ भएका नेपाली नागरिकले सहभागिता जनाउन सक्ने यो प्रतियोगितामा विलक्षण प्रतिभा, शारीरिक तन्दुरूस्तीलगायतका विभिन्न विधाको आधारमा सहभागीलाई सर्ट लिस्ट गराइने छ । मुलुकको विकास र प्रतिभाशाली कार्य गर्नेहरूका लागि यो आफैँमा एउटा उत्कृष्ट माध्यम बन्दै आएको छ । जुन मञ्चमा पाठकले प्रकृति संरक्षणको मुद्दा उठाएर फाइनलिस्ट बनेका हुन् ।
लामो समयदेखि वाइल्डलाइफ, नेचर तथा एस्ट्रो फोटोग्राफरको रूपमा काम गर्दै आएका पाठकले पहिलो पटक मिस्टर नेपालको मञ्चमा नेचर कन्जर्भेसनको आवाज उठाएका छन् । बुनपा १ का स्थायी वासिन्दा पाठक यसअघि २०२१ मा योङ वाइल्डलाइफ़ फोटोग्राफरको उपाधि जितेका थिए । ‘नेचर कन्जरभेसन’ तथा ‘सेभ वायोडायभर्सिटी’ विषयमा चार वर्षदेखि सक्रिय पाठकले आफूले मिस्टर नेपालको उपाधि जितेमा सिंगो वाइल्डलाइफ र नेचर कन्जर्भेसन क्षेत्रकै लागि एउटा उपलब्धि हुने बताए ।
कमलपोखरीमा रहेको इस्लिङ्टन कलेजमा स्नातक तहमा अध्ययनरत पाठकले मिस्टर नेपालको फिजिकल तथा ट्यालेन्ट राउन्डमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलिस्ट बनेका हुन् । उनले मिस्टर नेपालको इन्ट्रडक्सन राउण्डमै बेस्ट पफर्मेन्स गरेको आयोजकले जनाएको छ । पाठकले मिस्टर नेपालमा जजहरूसँग नेचर तथा वायो डायभर्सिटीलाई मार्फत् नेपालको विकास गर्न सकिने बताएका छन् ।
देशैभरि छरिएर रहेका प्रतिभालाई समेट्ने उद्देश्यले आयोजना गर्ने प्रतियोगितामा अडिसनबाट छानिएका प्रतियोगीलाई मात्र अन्तिम प्रतिस्पर्धाको तयारी कक्षा स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका दर्जन बढी विषयको प्रशिक्षणमा सहभागी गराइनेछ ।