काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा गुण्डागर्दी बढेको भन्दै सुरक्षा प्रबन्ध मिलाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले गृहमन्त्री गुहारेकी छन् । पाँच दिनदेखि लगातार सम्पर्क र समन्वय गरेको भन्दै भट्टराईले त्रिविमा गुण्डागर्दीले चरम रूप लिएको स्पष्ट पारेकी छन् । अहिले विभिन्न विद्यार्थी संगठनको धम्कीका कारण त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बराल १५ दिनदेखि बिदामा छन् । रेक्टर प्रा.डा.खड्ग केसी गत बुधबार र रजिस्ट्रार प्रा.डा. केदार रिजाल बिहीबारदेखि कार्यालयमा उपस्थित भएका छैनन् । पदाधिकारी कार्यालय नजाँदा प्रशासनिकलगायत काम प्रभावित भएका छन् ।
यस्तो अवस्थामा शिक्षामन्त्रीले सामाजिक सञ्जालमा लेखेकी छन् : ‘त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरूमाथि हमला गर्न खोज्ने र प्राध्यापकहरूलाई फोन गर्दै धम्की दिने गरेको कारण सिंगो विश्वविद्यालय असुरक्षित बनेको छ । त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु। गुन्डागर्दी गर्ने छुट कसैलाई छैन। यस्तो क्रियाकलापमा संग्लग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याई कारबाही गर्नसमेत म गृह मन्त्रालयलाई गम्भीरताका साथ अनुरोध गर्दछु।’
साथै उनले सार्वजनिक रूपमै भन्नुपर्न अवस्था आएर भनेको र कुनै आवेगमा आएर लेखेको होइन भन्ने स्पष्टीकरण पनि दिएकी छन् । ‘यहाँहरूले मलाई महत्त्वपूर्ण सुझाव दिनुभएकोमा आभारी छु। मैले सार्वजनिक अपिल गर्नुपर्ने भएर नै गरेको हुँ। कुनै आवेगमा आएर लेखेको होइन’, उनले लेखेकी छन्, ‘विगत ५ दिनदेखि लगातार सम्पर्क र समन्वय गरेको कुरासमेत जानकारी गराउन चाहन्छु।’
यो विवाद त्रिविको समाजशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख नियुक्ति विवादका कारण सिर्जना भएको हो । पदाधिकारीहरू बिदामा बस्नुको मुख्य कारण समाजशास्त्र केन्द्रीय विभाग प्रमुख नियुक्तिको विषयमा हो । मानविकी तथा समाजशास्त्र संकायकी डिन कुसुम शाक्यले विभागमा टीकाराम गौतमको नाम सिफारिस गरेकी छिन् । तर, विभिन्न विद्यार्थी संगठनले यसलाई मानेका छैनन् । उनीहरूले सो नाम सच्याउनका लागि धम्की दिँदै आएका छन् ।