काठमाडौं । मौसम विज्ञान विभागले नदी तटीय क्षेत्रका बासिन्दालाई बिहान १० बजेसम्म सचेत रहन आग्रह गरेको छ । बिहान मोबाइल सन्देश पठाउँदै विभागले काठमाडौं उपत्यकास्थित वाग्मती नदीको खोकना जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्रहरूमा यात्रा गर्ने र रहनेहरूले बिहान १० बजेसम्म सतर्कता अपनाउन आग्रह गरेको हो ।
विभागले बिहान कपिलवस्तुको भगवानपुर, दाङको लालमटिया, रोल्पाको लिवाङ, बाँकेको नेपालगञ्ज एयरपोर्ट र खजुरा, बर्दियाका रम्भापुर र रानीजरुवा, दैलेखको कट्टी र कैलालीको टीकापुरमा मध्यमदेखि भारी वर्षा भएको छ । ६ घण्टाको अवधिमा गोरखाको आरुघाट र पर्साको मुडलीमा पनि भारी वर्षा मापन भएको छ ।
विगत १२ घण्टाको अवधिमा देशका अधिकांश स्थानमा वर्षा भएको छ । १२ घण्टाको अवधिमा सबैभन्दा धेरै वर्षा रुपन्देहीको भैरहवामा मापन भएको छ । त्यहाँ १७८ मिलिमिटर वर्षा मापन भएको छ ।