काठमाडौं । बुढानीलकण्ठको वडा नं १० मा पाँच दलीय संयन्त्रको बैठकले फोहोर व्यवस्थापनमा १२ नं वडाको जस्तै मोडलबाट फोहोर व्यवस्थापन गर्नुपर्ने अडान राखेको छ । बिहीबार कपनमा बसेको नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा र नेकपा एसका प्रतिनिधिको बैठकले वडा नं १० मा पनि नगरपालिकाले नयाँ निर्णय नगर्दासम्म पुरानै कम्पनी र पुरानै शुल्कमा फोहोर व्यवस्थापन गर्नुपर्ने अडान राख्ने निर्णय गरेको संयन्त्रका सचिव एवं नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ४(ख)का सचिव मनोज सिग्देलले जानकारी दिए ।
अब पाँच दलीय संयन्त्रले तयार पारेको म्याण्डेडलाई आधार मानेर शुक्रबार वडामा यो माग लिएर पाँच वटै दलका वडा प्रतिनिधिहरू जाने तयारी गरेका छन् । वडा नं १२ मा जस्तै १० नं वडामा पनि वडाध्यक्षले फोहोर व्यवस्थापनमा सुझबुझपूर्ण तरिकाले १२ नं वडाको जस्तै मोडलबाट व्यवस्थापन गर्न सहमत हुने विश्वास बैठकले गरेको छ । नेपाली काँग्रेस बुढानीलकण्ठ नगरसमितिका सभापति राजाराम बुढाथोकीको पहलमा बसेको बिहीबारको बैठकमा नेपाली काँग्रेसका तर्फबाट काठमाडौं क्षेत्र नं ४ (ख)का सभापति रामप्रसाद लुइँटेल, सचिव मनोज सिग्देल, वडा नं १० का वडा सभापति नारदमणि घिमिरे सहभागी थिए । त्यस्तै, माओवादी केन्द्रबाट नगर इन्चार्ज अमर विकलगायत, रास्वपाबाट नगर सभापति निमा छिरिङलगायत प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
वडा नं १२ मा फोहोर व्यवस्थापनका सम्बन्धमा नगरपालिकाले नयाँ निर्णय गर्दासम्म पुरानै शैलीमा फोहोर व्यवस्थापन गर्ने सहमति भएको छ । सहमतिअनुसार अब वडा नं १२ का स्थानीयले फोहोर व्यवस्थापन शुल्कबापत प्रतिघर प्रतिमहिना २५० रुपैयाँभन्दा बढी शुल्क तिर्नुनपर्ने भएको थियो । त्यसअघि चार सयभन्दा बढी मनपरी शुल्क उठाउने नयाँ कम्पनीलाई जबर्जस्ती शुल्क बुझाउन वडाध्यक्षबाटै स्थानीयलाई दबाब दिने गरिएको थियो । तोकिएकोभन्दा बढी शुल्क लिएको थाहा पाइएमा कडा कारबाही गर्ने सहमति भएको थियो ।