काठमाडौं खबर साउन २९, २०८१
काठमाडौं । काठमाडौंमा सोमबार रातभरि भारी वर्षा भएको छ । काठमाडौंको उत्तरपूर्वी भेगमा पर्ने टोखा बुढानीलकण्ठ, तारकेश्वर लगायतका क्षेत्रमा भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज पनि देशभर साधारणतया बदली रहँदा आज बिहान केही प्रदेशमा वर्षा भइरहेको छ ।
काठमाडौंसहित बागमती प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज पनि उपत्यकाका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
विभागले राति देशभर साधारणतया बदली रहने बताएको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास छ ।