काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाको वडा नं १२ मा उपभोक्तासँग मनपरी फोहोरको शुल्क उठाउँदै आएको आरजी नेपाल कम्पनीले उल्टै उपभोक्ताहरुलाई धम्की दिएको छ । शुक्रबार १२ नं वडाका वडाध्यक्षसँग बसेर अहिलेलाई फोहोर संकलन पुरानै अवस्थामा जुन कम्पनीले गरिरहेको छ सोही कम्पनीबाट गराउने र शुल्क २५० रुपैयाँभन्दा धेरै उठाउने नपाउने सहमति भएको थियो । तर सहमतिको भोलिपल्टै उपभोक्ताहरुलाई कम्पनीका प्रतिनिधिभन्दै आएका व्यक्तिहरुले उपभोक्ताहरुमाथि नै धाकधम्की दिएको स्थानीयहरुले आरोप लगाएका छन् ।
यसरी धम्की आएको उपभोक्ताहरुले गुनासो गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष भाइनारायण श्रेष्ठको अध्यक्षतामा बसेको पाँच दलीय संयन्त्रले सो कार्यको निन्दा गर्दै उपभोक्तामाथि हुने जुनसुकै असुरक्षाको जिम्मेवारी सो कम्पनीले लिनुपर्ने निर्णय गरेको छ । बैठकले उपभोक्तामाथि कुनै पनि आक्रमण र धम्की आएमा प्रतिकार गर्ने निर्णय पनि गरेको नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ४ (ख)का सचिव एवं संयन्त्रका सचिव मनोज सिग्देलले जानकारी दिए ।
बैठकपछि सबै दलका प्रतिनिधिहरुले विज्ञप्ति निकालेर यस्तो धम्कीको जुनसुकै निकायबाट भए पनि निन्दनीय भएको भन्दै यस्तो कार्यमा संलग्न नहुन चेतावनी दिएको छ । यस्ता निन्दनीय कार्य गर्दा हुने जस्तोसुकै क्षतिको जिम्मेवारी पनि सोही पक्षले लिनुपर्ने स्पष्ट पारेको छ ।
पाँच दलीय संयन्त्रको तर्फबाट नेपाली काँग्रेसबाट मनोज सिग्देल, माओवादीबाट भाइनारायण श्रेष्ठ, रास्वपाबाट निमा छिरिङ लामा, राप्रपाबाट कमल श्रेष्ठ र समाजवादी पार्टीबाट शिवकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।