काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाको वडा नं १० र १२ नं वडाध्यक्षको मनपरीविरुद्धको १२ नं वडा कार्यालयमा हुने प्रदर्शनमा सहभागी हुन पाँच दलीय संयन्त्रले आह्वान गरेको छ । संयन्त्रको बिहीबार बसेको बैठकले शुक्रबार बिहान वडाध्यक्षको मनपरीविरुद्धको खबरदारी प्रदर्शनमा सहभागी हुन आह्वान गर्ने पाँच दलीय संयन्त्रले निर्णय गरेको हो ।
नेपाली काँग्रेसको पहलमा बसेको संयन्त्रको बैठकमा नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । उनीहरुले उपभोक्ता अधिकार हनन् गर्दै आर्थिक भार थप्ने वडाध्यक्षहरुको निर्णयको विरुद्ध प्रदर्शन गर्नुको विकल्प नभएको भन्दै उनीहरुले सबैलाई प्रदर्शनमा सहभागी हुन आग्रह गरेका हुन् ।
बैठकले यसअघि फोहोर व्यवस्थापनमा स्थानीयले तिर्दै आएको शुल्कको झण्डै दोब्बर हुने गरी नयाँ कम्पनीलाई ठेक्का दिएर उपभोक्तामाथि आर्थिक भार थपेका दुई वडाध्यक्षहरुले अहिले पुरानो फोहोर संकलन संस्थाको गाडी नियन्त्रणमा लिने, धरपकड गर्ने गरेकोप्रति ध्यानाकर्षण जनाउँदै शुक्रबार बिहानसम्म नियन्त्रणमा लिएका गाडी नियन्त्रणमुक्त गरेर निर्वाध फोहोर उठाउन नदिए सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । बैठकले वडाध्यक्षहरुलाई बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको छ ।