काठमाडौं खबर साउन २४, २०८१
काठमाडौं । नेपाली कांग्रेसका जनप्रतिनिधि तथा पार्टी प्रतिनिधिले बुढानीलकण्ठको वडा नं २ र १३ को मनसुनजन्य विपद् प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । बिहीबार बिहान नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ४ ख को आयोजनामा गरिएको उक्त कार्यक्रममा प्रदेश सभा सदस्य मीना पराजुलीलगायत नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि र पार्टी प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रम गत जेठ २८ गतेदेखि हालसम्म परेको पानी र सोबाट उत्पन्न मनसुनजन्य विपद्का घटनाहरूको बारेमा जानकारी लिँदै त्यसको समाधानका लागि पहल गर्ने उद्देश्यले सञ्चालन गरिएको आयोजक नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ४ ख कार्यसमितिका सचिव मनोज सिग्देलले जानकारी दिए । कार्यक्रममा जनप्रतिनिधि एवं पार्टी प्रतिनिधिहरूले सो क्षेत्रमा भएका घटनाहरूको विवरण संकलन गरी तत्काल राहत तथा उद्दारका काम अघि बढाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सिग्देलका अनुसार सहभागी प्रतिनिधिहरूले पालिकामा पार्टीको उपस्थिति तुलनात्मक रूपमा कमजोर रहेको भन्दै पालिकाबाट पहल गर्दा राहत र उद्दारमा प्रभावकारी काम नभए प्रदेश र संघअन्तर्गत्का निकायबाट भए पनि पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य मीना पराजुली, क्षेत्र नं ४ ख का प्रदेश सभापति रामप्रसाद लुइँटेल, पार्टी नगर सभापति राजाराम बुढाथोकी, जिसस उपप्रमुख शान्ति पाण्डे, महाधिवेशन प्रतिनिधि अच्युत पौडेल, काठमाडौं क्षेत्र नं ४ क सहसचिव महेन्द्र श्रेष्ठ, क्षेत्रीय कोषाध्यक्ष एवं वडा सदस्य रामविनोद लामिछाने, नगर सचिव बिजेन्द्र श्रेष्ठ, नगर कार्यसमितिका सहसचिव कुमार खड्का, बुनपा लेखा समिति संयोजक राजकाजी श्रेष्ठ, बुनपा २ नं वडा सभापति जनक थापा, बुनपा १३ नं सभापति भाइनारायण श्रेष्ठ, वडा सदस्य पार्वती श्रेष्ठ, सांसद कार्यालयका प्रतिनिधि वसन्त श्रेष्ठ, भीम श्रेष्ठ, दिनेश श्रेष्ठ, कमल खत्री, लक्ष्मण श्रेष्ठ, राजेन्द्र खत्री लगायत पार्टी नेता, कार्यकर्ता एवं प्रभावित स्थानीयको समेत बाक्लो सहभागिता रहेको छ ।