काठमाडौं खबर साउन २४, २०८१
काठमाडौं । चन्द्रागिरि नगरपालिकावासीलाई रेडक्रस सोसाइटीले थप तीन वर्षसम्म नि:शुल्क उपलब्ध गराउने भएको छ । बुधबार स्थायी बासिन्दालाई नि:शुल्क रगत उपलब्ध गराउने विषयमा नगर प्रमुख घनश्याम गिरी र सोसाइटीअन्तर्गतको रक्त सञ्चार सेवा केन्द्रका निर्देशक पवनकुमार गुप्ताले द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरे । यसअघिदेखि नै जारी रहेको सो व्यवस्थालाई थप तीन वर्षका लागि नवीकरण गरिएको नगरपालिकाले जनाएको छ । केन्द्रले विगत दुई वर्षदेखि उक्त सेवा प्रदान गर्दै आएको थियो ।
उक्त सम्झौताअनुसार चन्द्रागिरिवासीले आवश्यकता पर्दा नेपाल रेडक्रसको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका शाखाअन्तर्गत सञ्चालित रक्त सञ्चार सेवा केन्द्रमार्फत पनि निःशुल्क रगतको सुविधा प्राप्त गर्न सक्ने जनाइएको छ । गत दुई वर्षमा करिब दुई सय नगरवासीले उक्त निःशुल्क रगतको सुविधा प्राप्त गरेका थिए । यसैगरी नगरपालिकाअन्तर्गत सामाजिक सङ्घसंस्था, क्लब वा समूहले नेपाल रेडक्रसको समन्वयमा रक्तदान कार्यक्रम आयोजना गर्दा नगरपालिकाले उक्त संस्थालाई कार्यक्रम संयोजनबापत प्रतिरक्तदाता दुई सय पनि उपलब्ध गराउने छ ।
नगरपालिकाले नेपाल रेडक्रससँगै मेट्रो रक्त सञ्चार सेवासँग पनि नगरवासीहरुलाई निःशुल्क रगत उपलब्ध गराउनेसम्बन्धी सम्झौता गरेको छ । नगरवासीहरुलाई आवश्यकता पर्दा यी दुई निकायहरुबाट आवश्यकता परेका समयमा निःशुल्क रगतको सुविधा लिन नगर प्रमुख गिरीले उक्त कार्यक्रममार्फत आह्वान गरे । उनले भने, ‘गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सबै नगरवासीसमक्ष पुर्याउन नगरपालिकाले उच्च प्राथमिताका साथ काम गरिरहेको छ ।’ प्रमुख प्रशासकीय अधिकृत अर्यालले सम्झौतासँगै निःशुल्क रगत प्राप्तिका लागि थप सहज हुने विश्वास व्यक्त गरे ।