काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाको प्रसिद्ध धार्मिक स्थल कागेश्वोरी धाम, गागलफेदी र सातघट्टेलगायत क्षेत्र पुग्ने कागेश्वरी चक्रपथको बाटो करिब दुई सातादेखि अवरुद्ध भएको छ । काठमाडौंको शंखरापुर र कागेश्वरी नगरपालिका जोड्ने यो चक्रपथ गत साउन ११ गतेको भीषण वर्षापछि गएको पहिरोले अवरुद्ध गराएको हो । शंकरापुरको वडा नं ९ स्थित पासिखेलमा पहिरोले सडक अवरुद्ध भएको हो ।
सो सडक ५० मिटर भासिएर उक्त सडकखण्ड अवरुद्ध भएको हो । सो सडकखण्डबाट शंखरापुर नगरपालिकाको सानागाँउ, कागेश्वरी मनोहरा नगरपालिकाको प्रसिद्ध धार्मिक स्थल कागेश्वरी धाम, गागलफेदी र सातघट्टे जान सकिन्छ । उक्त सडकखण्डको मंगलबार संघीय सांसद, बागमती प्रदेशका मन्त्री, नगरपालिकाका मेयरलगायतले निरीक्षण गरेका थिए ।
मंगलबार बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री अमन मास्केले अवरुद्ध सडक खण्ड तत्काल संचालनमा ल्याउन बागमती प्रदेश सरकारले तत्कालै आवश्यक पहल कदमी लिने प्रतिबद्धता व्यक्त गरे । निरीक्षण कार्यक्रममा संस्कृति पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरी तथा आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, काठमाडौं क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य प्रतिमा गौतम, संविधान सभा सदस्य रामेश्वर फुयाल, बागमती प्रदेश पूर्व वन तथा वातावरण मन्त्री राजु बिस्ट, कागेश्वरीका प्रमुख उपेन्द्र कार्की, शंखरापुर नगरपालिकाका प्रमुख, उपप्रमुख, विभिन्न वडाका निर्वाचित वडाध्यक्ष एवम् विभिन्न राजनितिक दलका प्रतिनिधि एवम स्थानीयको उपस्थिति थियो ।