काठमाडौं खबर साउन २३, २०८१
काठमाडौं । आज पनि काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकासहित देशभरका ३४ जिल्लामा काठमाडौंबाट छुट्ने रात्रिबस रोकिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पाँच वटा प्रदेशका विभिन्न जिल्ला उच्च जोखिममा रहने भन्दै ३४ जिल्लामा रात्रि बस नचलाउन भनेको हो । प्राधिकरणले रातको समयमा सडक क्षेत्रमा बाढी र पहिराको आकलन गर्न कठिन हुने जनाएको छ । भारी वर्षा हुने अनुमान गरिएका जिल्लामा जुनसुकै बेला विपद् आउन सक्ने भन्दै प्राधिकरणले अति जरुरी पर्दाबाहेक यात्रा नगर्न, नदी किनार र पहिरो जोखिम क्षेत्रका बासिन्दा चनाखो रहन तथा दाउरा निकाल्न र माछा मार्न नदी किनारमा नजान आग्रह गरेको छ ।
त्यस्तै, प्राधिकरणले काठमाडौं उपत्यकाका नदी तथा खोला किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ । उपत्यकामा पनि भारी वर्षाका कारण जल सतह बढ्न सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ । बागमती, विष्णुमती, धोबीखोलालगायत खोलामा जल सतह बढ्न सक्नेभन्दै सचेत रहन आग्रह गरिएको हो ।