काठमाडौं । एक महिनासम्म मनाइने गुँला पर्व आजबाट सुरु भएको छ । काठमाडौं उपत्यकाका बौद्ध धर्मावलम्बीले वर्षभर दिवंगत भएका आफन्तको सुखावति भुवन (वैकुण्ठ) मा बास परोस् भन्ने कामना गर्दै घर नजिकै रहेको बौद्ध विहार तथा चैत्यको परिक्रमा गर्ने प्रचलन छ ।
नेपाल भाषामा ‘गुँ’को अर्थ नौ तथा ‘ला’को अर्थ महिनाका रुपमा लिइएको छ । नेपाल सम्वतको नौ महिनामा पर्ने सो पर्वमा बौद्ध तथा गैरबौद्ध धर्मावलम्बीले समेत सहभागिता जनाउने गर्छन् ।
गुँला पर्वको अवसरमा विशेषगरी नौँ बाजा बजाउने प्रचलन रहेको छ । गुँला पर्व विशेषगरी बौद्धमार्गीको पर्व भएपनि गुँला पर्वमा अन्य धर्मावलम्बीसमेत सहभागी हुने गर्दछन् । गुँला पर्वमा बौद्धमार्गी विशेषगरी स्वयम्भू महाचैत्यको दैनिक परिक्रमा गर्नुका साथै बौद्ध, पाटनको पुल्चोकलगायत उपत्यकाका विभिन्न चैत्यको समेत परिक्रमा गर्ने गर्दछन्।
गुँला पर्वको प्रमुख विशेषता न्याकुँ बाजा हो । यो बाजा राँगाको सिङबाट निर्माण गरिएको हुन्छ । सो अवसरमा स्वयम्भूमा पर्वमा सहभागी हुन पुगेका जेठुनारायण महर्जनले खेतीपाती सकेर मानिसहरु फुर्सद हुने र अन्य चाडवाडलाई पनि मध्यनजर गरी खुशीयाली साट्ने पर्व रहेको बताए । उनले हरेक दिन अब एक महिनासम्म टोलटोलबाट बाजा लिएर चैत्य परिक्रमा गर्ने बताए । यो पर्व एक महिनासम्म बुद्धको विशेष पूजा आराधना गरेर मनाउने गरिएको छ ।