काठमाडौं । बुढानीलकण्ठ नगरपालिकामा संघीय स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र बागमति प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिँचाईमन्त्री श्याम बहादुर खड्का सम्मानित भएका छन् । नेपाली काँग्रेस बुढानीलकण्ठ नगर कार्यसमितिले शनिबार होटल अमुप्रस्थ इभेन्ट्समा आयोजना गरेको कार्यक्रममा दुई मन्त्रीलाई सम्मान गरिएको नगर कार्यसमिति सचिव बिजेन्द्र श्रेष्ठले जानकारी दिए ।
स्वास्थ्यमन्त्री पौडेल काठमाडौं क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सांसद हुन् भने खड्का क्षेत्र नं ५ का सभापति एवं प्रदेश सांसद एवं मन्त्री छन् । कार्यक्रममा नगरसभापति राजाराम बुढाथोकीले सम्मानपत्र हस्तान्तरण गरे ।
कार्यक्रममा सम्मानपछि बोल्दै पौडेल र खड्काले पार्टीको नगर समितिले गरेको सम्मानले आफ्नो जिम्मेवारी र कर्तव्यबारे सचेत रहने प्रतिबद्धता व्यक्त गरे । उनीहरूले आफ्नो काममा निरन्तर खबरदारी र सल्लाह सुझावको सधैं खाँचो रहेको पनि व्यक्त गरे ।
कार्यक्रममा प्रदेश सांसद मिना पराजुली, पूर्वसंघीय सांसद दिव्यमणि राजभण्डारीलगायत महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिलगायत पार्टीको विभिन्न तहमा रहेर काम गरिरहेका व्यक्तिहरूको उपस्थिति रहेको थियो।