ललितपुर । वर्षा र सहकालका देवताका रातो मत्स्येन्द्रनाथको रथ जावलाखेल पुगेको छ । बिहीबार रथलाई लगनखेलको ठटी टोलबाट तानेर जावलाखेल पुर्याइएको छ । वैशाख शुक्ल प्रतिपदादेखि रथारोहण सुरु भएर शुभ साइतअनुसार लगनखेलको ठटी टोलमा रोकिएको रथलाई बिहीबार जावलाखेल पुर्याइएको हो ।
रातो मच्छिन्द्रनाथको रथलाई जावलाखेल पुर्याएको चार दिनमा भोटो देखाइन्छ । अर्थात् आइतबार भोटो देखाइने छ । जावलाखेलको ललितमण्डपमा रातो मच्छिन्द्रनाथको रथ पुर्याएको चार दिनमा हरेक वर्ष राष्ट्रप्रमुखको हातबाट भोटो देखाउने प्रचलन भएकाले साउन २० गते आइतबार राष्ट्र प्रमुखबाट भोटो देखाइनेछ । जावलाखेलको ललितमण्डपमा रहेको रातो मच्छिन्द्रनाथको हरेक दिन भक्तजनहरूले पूजाआजा गर्नेछन् ।
हरेक वर्षको वैशाख शुक्ल प्रतिपदादेखि सुरु हुने रातो मच्छिन्द्रनाथको रथजात्रा काठमाडौं उपत्यकाको पुरानो र सबैभन्दा लामो जात्राका रूपमा चिनिन्छ । जावलाखेल पुर्याएको चार दिनपछि राष्ट्रप्रमुखलाई भोटो देखाएपछि यो वर्षको जात्रा समापन हुन्छ ।