काठमाडौं । कपन खहरेको सम्बन्धमा ध्यानाकर्षण गराउन काठमाडौं क्षेत्र नं ४ सांसद कार्यालयको टोली डेलिगेसनमा गएको छ । बुधबार काठमाडौं उपत्यका विकास प्राधिकरणमा सांसद कार्यालयका प्रतिनिधिहरूको नेतृत्वमा गएको टोलीले सो क्षेत्रको काम छिटो सम्पन्न गर्न र पछिल्लो समयको बाढीले बाटोमा पुर्याएको क्षतिको बारेमा पनि कार्यालयको ध्यानाकर्षण गराएको थियो ।
बुधबार प्राधिकरणका प्रमुख प्रकाश अर्याललगायत प्राविधिक टोलीसँग लगातार तीन चारदिनदेखि आएको ठूलो बाढीले बाटोमा पुर्याएको क्षति र प्रधिकरणको आगामी योजनाको बारेमा छलफल भएको थियो । भेटमा बाढीका कारण कपन क्षेत्रको सडक हिँड्न नहुने भएको भन्दै त्यसलाई तत्काल हिँड्न हुने बनाउन पनि माग गरेका थिए ।
जवाफमा प्रमुख अर्यालले आइतबार प्रविधिक पठाएर सो क्षेत्रको अवलोकन गर्ने र वडाले सिफारिस गरेको खण्डमा चौकीदेखि आरम्भ चोकसम्मको बाटो तत्कालका लागि हिँड्नहुने बनाउने आश्वासन दिएका छन् । उनले गत वर्षभन्दा यो वर्ष बजेट राम्रो आएकोले सो क्षेत्रको काम सकेसम्म यही वर्ष सम्पन्न गर्नेगरी तयारी गरिरहेको पनि जानकारी दिएका छन् ।
सांसद कार्यालयको नेतृत्वमा गएको डेलिगेसनमा पार्टीका क्षेत्रीय, प्रदेश, नगर, सम्बन्धित वडा सभापति, पूर्व प्रदेश सांसद, मेयरका प्रत्यासीसहित स्थानीयको समेत सहभागिता थियो ।