काठमाडौं । ललितपुरपछि काठमाडौंमा पनि हैजाका बिरामी भेटिएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार कालिमाटीका तीन जनामा हैजाको संक्रमण पुष्टि भएको हो ।
यसअघि ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १४ को एक पुनर्स्थापना केन्द्रमा बस्दै आएका एक किशोरहरूमा हैजा भेटिएको थियो । हैजाको संक्रमण भेटिएपछि संक्रमण भएकाहरूको घर नजिक परीक्षण गर्दा ललितपुरमा इनारको पानीमा दिसामा देखिने जीवाणु भेटिएको थियो ।
काठमाडौंमा भेटिएका हैजाका बिरामीहरू तीनैजनाको टेकु अस्पतालमा उपचार भइरहेको छ। जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख डा. अर्जुनप्रसाद सापकोटाका अनुसार हैजा पुष्टि भएसँगै उनीहरूलाई उपचारका लागि टेकु अस्पताल लगिएको थियो ।
योसँगै काठमाडौं उपत्यकामा हैजा संक्रमितको संख्या १० पुगेको छ । महाशाखाले शौचालयको अवस्था र फोहोरको व्यवस्थापन कस्तो छ त्यसले पनि भर पर्ने भन्दै हैजा फैलिन नदिन यी सबैमा ध्यान दिनु जरुरी रहेको जनाएको छ ।