काठमाडौं । आइतबार काठमाडौं उपत्यकामा मध्यम वर्षा हुने सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागले आज दिनभर मध्यम वर्षाको सम्भावना देखाएको हो । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै विभागले देशभर साधारणतया बदली रहेको बताएको छ ।
विभागका अनुसार आइतबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । बागमती प्रदेशका पहाडी भेगका केही स्थान तथा बाँकी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यस्तै, आइतबार राति बागमती प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको देखिएको छ। काठमाडौं उपत्यकामा पनि मुसलधारे वर्षा हुने सम्भावना देखिएको छ । विभागले बागमती प्रदेशमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिराको जोखिमबाट बच्न अनुरोध गरेको छ ।
साथै विभागले ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन पनि सम्बद्ध सबैमा आग्रह गरेको छ ।