काठमाडौं । बागमती प्रदेश सरकारमा नियुक्त मन्त्रीमध्ये झण्डै दुई तिहाइ मन्त्री काठमाडौं उपत्यकाका रहेका छन् । मुख्यमन्त्री बहादुरसिंह लामाले शनिबार बिस्तार गरेको मन्त्रिमण्डलसहितको सूची हेर्दा १४ मध्ये ९ जना काठमाडौं उपत्ययकाको रहेको भेटिएको हो ।
कुल १३ जिल्ला रहेको प्रदेशमा प्रदेश राजधानी रहेको जिल्ला मकवानपुरले नै एउटा पनि मन्त्री पाएन । मुख्यमन्त्रीको छिमेकी जिल्ला रसुवाबाट प्रभात तामाङलाई मन्त्री नियुक्त गरे पनि उनलाई हटाएर पछि काठमाडौंकी हरिप्रभा खड्गीले मन्त्री पद पाइन् । यसबाहेक काभ्रे, सिन्धुपाल्चोक र रामेछापबाट पनि कसैले मन्त्री पाएनन् ।
१० निर्वाचन क्षेत्र रहेको काठमाडौँले मात्र ६ मन्त्री पाएको छ । उपत्यकाको ललितपुरले २ र भक्तपुरले १ मन्त्री पाएको छ । काठमाडौँबाट एमालेका प्रकाश श्रेष्ठ, अमन कुमार मास्के मन्त्री बने भने कांग्रेसबाट श्याम खड्का, हरिप्रभा खड्गी, सुरजचन्द्र लामिछाने, विमल ठकुरी मन्त्री बने ।
ललितपुरबाट एमालेका प्रेमभक्त महर्जन र कांग्रेसका मीनकृष्ण महर्जन मन्त्री बन्ने अवसर पाए भने भक्तपुरबाट एमालेका किरण थापा मन्त्री बने । कांग्रेसबाट दोलखाका कुन्दनराज काफ्ले, धादिङका मदु कुमार श्रेष्ठ मन्त्री बने भने एमालेबाट सिन्धुलीकी सुकमाया तामाङ र चितवनका कृष्णप्रसाद सिलवाल मन्त्री बनेका छन् ।