काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले महंगी भत्ता वितरणमा अनियमितता गरेको भेटिएको छ । महालेखा परीक्षकले पटकपटक यसमा सचेत गराउँदा पनि यो अनियमितता नरोकिएको महालेखाको पछिल्लो प्रतिवेदनमा उल्लेख छ । सो प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/८० मा २८ लाख ५६ हजार रुपैयाँ अनियमितता भएको उल्लेख छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७४ वैशाख १९ को निर्णयअनुसार सबै निकायमा कार्यरत स्वीकृत दरबन्दीभित्र रहेका करार कर्मचारीहरुको सेवा सुविधामा एकरुपता कायम गर्न साविक सामान्य प्रशासन मन्त्रालयको पत्र संख्या कानुन १८ । २०७३ | ४७ चलानी नं २१७ मिति २०७४ वैशाख २५ को परिपत्रमा करार कर्मचारीले महंगी भत्ता पाउने उल्लेख गरेको देखिँदैन ।
पालिकाले करार कर्मचारीहरू इन्जिनियर अधिकृत छैटौँ १ जना, सूचना प्रविधि अधिकृत १ जना, सब ईन्जिनियर सहायक पाँचौँ १०, अमिन लगायत ९३ जना नगर कार्यपालिकातर्फको र २६ जना स्वास्थ्य कर्मचारीहरु गरी ११९ जना करार कर्मचारीहरुलाई मासिक रु. २००० का दरले महंगी भत्ता दिएको देखिएको छ । यो पूर्णत: गैरकानुनी देखिएको हो । यसमा २८ लाख ५६ हजार भुक्तानी भएको भन्दै महालेखाले अनियमित बेरूजु कायम गरिदिएको छ ।
यस सम्बन्धमा गत वर्षको लेखापरीक्षण प्रतिवेदनमा कैफियत औल्याए पनि अवस्था यथावत रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।