काठमाडौं । पछिल्लो डेढ महिनामा विपद्मा परी काठमाडौंमा दुई जनाको ज्यान गएको छ । गत जेठ २८ गतेदेखि सुरु भएको मनसुनजन्य विपद्का घटनामा काठमाडौंमा दुईसहित देशभर १३४ को ज्यान गएको हो । यसमा गत असार २८ गते घटेको सिमलताल घटनाका मृतकको संख्या जोडिएको छैन ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढीपहिरोलगायतका विपद्मा परी काठमाडौं उपत्यकामा दुई जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा छ जना, बागमती प्रदेशमा २५ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा एक सय ३४ जनाको मृत्यु भएको हो ।
काठमाडौंको नागार्जुन नगरपालिका-३ मा खसेको पहिरामा पुरिएर एक जनाको मृत्यु भएको थियो । नागार्जुन-३ स्थित ट्रपिकल रेष्टुरेण्टको भान्साघर पुरिँदा गोरखा लखन थापा गाउँपालिका-६ घर भई हालः सोही रेष्टुरेण्टमा काम गर्ने मनोज विकको मृत्यु भएको थियो । गम्भीर घाइते भएका विकको स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा शनिबार मृत्यु भएको हो ।
त्यस्तै, बाढीपहिरोमा परी काठमाडौं उपत्यकामा नौ जना, कोशी प्रदेशमा ३४ जना, मधेश प्रदेशमा नौ जना, बागमती प्रदेशमा नौ जना, गण्डकी प्रदेशमा २९ जना, लुम्बिनी प्रदेशमा नौ जना, कर्णाली प्रदेशमा ३५ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा एक सय ४८ जना घाइते भएका प्रवक्ता कार्कीले बताए ।
बाढीको कारण जम्मा एक सय ८४ घर डुबानमा परेका छन् । दुई सय ३७ वटा घर, ८६ वटा गोठ, ४३ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ । बाढीपहिराकै कारण छ सय तीन वटा पशुचौपाया मरेका छन् । उक्त अवधिमा विपद्का घटनाबाट चार हजार ३० घर परिवार विस्थापित भएका प्रवक्ता कार्कीले जानकारी दिए ।