काठमाडौं खबर साउन ९, २०८१
काठमाडौं । प्याबसोक गुरु पूर्णिमा कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंको सरस्वतीनगरस्थित ए वन क्याफेमा आयोजित कार्यक्रममा सदस्य विद्यालयका उत्कृष्ट शिक्षकहरूलाई पुरस्कार र फेलोसिपसहित सम्मान गरेको थियो । आफ्नो पाँचौं वर्ष पूरा गरेको अवसरमा यो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । डा. स्वामी केशवानन्दको उपस्थितिमा आयोजित कार्यक्रममा आध्यात्मिक शिक्षाको आवश्यकता र महत्वका बारेमा चर्चा भएको प्याब्सोकका अध्यक्ष राजन श्रेष्ठले जानकारी दिए।
कार्यक्रममा नेसनल प्याब्सनकेन्द्रीय समितिका सचिव विष्णु पराजुली, नेसनल प्याब्सन बागमती प्रदेशका सचिव गेन्द्र लामा र प्याबसोकका सल्लाहकारहरू शम्भु अधिकारी, नारायण बाबु तिम्सिना र भीष्म ढकालको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मनास्लु वर्ल्ड कलेज, भीएस कलेज, टेक्सास इन्टरनेसनल कलेज, पुष्पलाल मेमोरियल कलेज र सुटमाला टेलर्सले प्रायोजन गरेको प्याबसोकका कोषाध्यक्ष राजेश्वर तिवारीले जानकारी दिए । चार सयभन्दा बढी शिक्षकहरूको सहभागिता रहेको यस कार्यक्रममा ३० भन्दा बढी विद्यालयहरूको प्रतिनिधित्व थियो। यसले शैक्षिक समुदायको सामूहिक भावना र समर्पणको प्रमाण प्रस्तुत गरेको थियो। आयोजकहरूले आगामी दिनहरूमा पनि यस्तै उत्साह, जोश र सकारात्मकता कायम राख्न अपेक्षा गरेका छन्।