काठमाडौं । काठमाडौंमा आज पनि दिनभरि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार रातिदेखि नै घनकोर वर्षा भइरहेको काठमाडौंमा आज दिनभर पनि विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाडौं उपत्यकाका भने केही स्थानमा मध्यमदेखि भारी वर्षको सम्भावना छ ।
मंगलबार राति भने देशभर आंशिकदेखि साधारणतया बदली रही बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती , गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
काठमाडौंमा भारी वर्षा भएको छ । गएरातिदेखिको वर्षाका कारण काठमाडौंका नदीमा जलसतह बढेको छ । वाग्मती नदीको खोकना जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरको छ । जलसतह बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्रमा यात्रा गर्ने र बस्नेहरूले सतर्कता अपनाउनुपर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार काठमाडौं उपत्यकाको सुन्दरीजल, कपन, नैकाप, बबरमहल र आसपास भारी वर्षा भएको छ ।