काठमाडौं । फुटपाथ विस्तारका कारण न्युरोडमा केही दिनदेखि रमिता चलिरहेको छ । काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तार गर्न गरेको प्रयासलाई नेकपा एमालेका जनप्रतिनिधिहरूले विरोध गरेपछि अहिले त्यहाँ रमिता चलिरहेको हो । फुटपाथ विस्तारको विरोधमा काठमाडौँ महानगरपालिका–२२ ले सोमबार दोस्रो दिन पनि सडकबाटै काम गरिरहेको छ । आइतबारदेखि वडाध्यक्ष चिनीकाजी महर्जनलगायतले वडाको काम सडकमा पाल टाँगेर गर्न थालेका हुन्।
उच्च अदालत पाटनको आदेशपछि महानगरले न्युरोडको जुद्ध सालिकबाट दक्षिणतर्फको धर्मपथ आसपासमा सडक विस्तार गर्न सुरु गरेपछि स्थानीयले विरोध जनाउँदै आएका छन् । स्थानीयवासीको विरोधमा वडाका जनप्रतिनिधि पनि समर्थनमा उत्रियएका हुन् ।पैदलमार्ग विस्तारको विरोधमा वडाध्यक्षसहित स्थानीय र व्यापारीले शुक्रबार बिहानैदेखि सडक प्रदर्शन गरेका थिए । नागरिकको विरोधलाई समर्थन जनाउँदै सडकबाट सेवा दिन थालिएको वडाध्यक्ष महर्जनले बताए ।
उता एमालेका जनप्रतिनिधिहरूले विरोध गरिरहँदा नेपाली काँग्रेसबाट चुनाव जितेका जनप्रतिनिधिको वडामा भने भकाभक काम भइरहेको छ । गत आर्थिक वर्षको बजेटमार्फत पैदलमार्ग विस्तार याेजना सुरु भएको हो ।योजनाअनुसार नयाँ सडक, धर्मपथ, शुक्रपथ, खिचापोखरीसहितका सडकखण्डका पैदलमार्ग फराकिला हुनेछन् । यी क्षेत्रहरू महानगरको वडा २२, २३ र २४ मा पर्छन् ।
वडा नम्बर २२ र २३ का जनप्रतिनिधिले विरोध प्रदर्शन गरिरहँदा वडा नम्बर २४ मा महानगरले सहज रूपमा काम गरिरहेको छ । यो वडाका वडाध्यक्ष बिनोद कुमार राजभण्डारी पहिलेदेखि नै फुटपाथ विस्तारको पक्षमा थिए । नेपाली काँग्रेसबाट जितेका राजभण्डारीले यसरी समर्थन गरिरहँदा २२ नं वडामा पर्ने वडाध्यक्ष महर्जनले भने फुटपाथ विस्तारको विरोधमा काम गरिरहेका छन् । फुटपाथ विस्तारसँगै सडक किनारालाई हरियाली बनाउने महानगरको योजना छ। ठाउँ–ठाउँमा विश्रामस्थलसमेत बनाउन लागिएको छ ।