

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले वडाको सर्वसम्मत निर्णयमाथि राजनीतिक पूर्वाग्रह राखी कैची चलाएको छ । विकास र आवश्यकता भन्दा पनि राजनीतिक आस्थाको आधारमा तयार पारिएको बजेटमा विभिन्न वडाका प्राथमिकता प्राप्त आयोजनाहरू नै बजेटबाट हटाइएको छ । वडाले सर्वसम्मत निर्णय गरेका आयोजनाहरू बजेट बन्ने बेलामा उल्लेख नै नभएपछि जनप्रतिनिधिहरू आक्रोशित बनेका छन् ।
नगरपालिकाको वडा नं २ ले सर्वसम्मत निर्णय गरेर पठाएका योजनामाथि राजनीतिक पूर्वाग्रह राखेर मनपरी गरेको भेटिएको हो । चालू आर्थिक वर्षको लागि नगरपालिकाले दिएको तीन करोडको सिलिङभित्र रहेर वडाले पठाएका २९ वटा कार्यक्रममाथि तलमाथि गरेर नगरपालिकाले आफू अनुकूल बन्ने कार्यक्रमलाई मात्रै स्वीकृत गरेको भेटिएको छ । नगरपालिकामा रहेको बहुमतको दम्भ देखाएर नगरपालिकाका अल्पमतमा रहेका जनप्रतिनिधिहरूको अपमान गरेको भन्दै आलोचना सुरु भएको छ । यसले जनताको अवमूल्यन भएको भन्दै स्थानीयले समेत आरोप गरेका छन् ।
चालू आर्थिक वर्षमा वडाले पञ्चकन्या सामुदायिक वनमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा रहेको शान्ति पार्कलाई निरन्तर बजेट शीर्षकमा २५ लाख रुपैयाँ विनियोजन गर्ने प्रस्ताव सर्वसम्मतले वडाबाट पारित गरी नगरपालिकामा पठाएको थियो । सोही प्रस्तावमा कम्युनिष्ट नेता मदन भण्डारीको नाममा समेत पार्क निर्माण गर्नका लागि २० लाख रुपैयाँ सर्वसम्मत निर्णय गरेर पठाइएको थियो ।
तर नगरपालिकाले बजेट निर्माण गर्ने क्रममा गिरिजाप्रसाद कोइरालाको नाममा रहेको नियमित योजनामाथि कैची चलाएपछि स्थानीयहरू आक्रोशित बनेका छन् । नयाँ बजेटको रूपमा प्रस्ताव गरिएको मदनभण्डारीको नामको पार्कको लागि बजेट स्वीकृत गर्ने नगरपालिकाले गिरिजाप्रसाद कोइरालाको नामको योजना नै हटाउनुले नगरपालिकाको नेतृत्व कतिसम्म राजनीतिक पूर्वाग्रही छ भन्ने पुष्टि भएको एक नगरसभा सदस्यको भनाइ छ ।
नगरपालिकाले बजेट कटाउँदा वडाको प्राथमिकताका योजना नै अलपत्र
उता वडाले प्राथमिकतामा राखेर पठाएका योजनाकै बजेट कटौती गर्दा विभिन्न कार्यक्रमहरू अलपत्र परेका छन् । ५ देखि १० लाख रुपैयाँ बजेट विनियोजन गर्दा यही चालू आर्थिक वर्षमा सम्पन्न हुने कार्यक्रममाथि समेत कैची चलाउँदा वडाका प्राथमिकतायुक्त कार्यक्रम अलपत्र परेका हुन् । यस्ता परियोजनाहरू वडा नं २ मा मात्रै करिब आधा दर्जन रहेका छन् । ती परियोजनाको लागि पनि वडाले सर्वसम्मत निर्णय गरेर नगरसभामा पठाएको थियो । तर वडाले पठाएका आधा दर्जनभन्दा बढी परियोजनाहरू नगरपालिकाले गायब गराइदिएको छ ।
तोकिएको सिलिङभित्र रहेर कुल २९ वटा कार्यक्रम सर्वसम्मत निर्णय गरेर पठाएको वडा नं २ को ७ वटा कार्यक्रम गायब भएका हुन् । यीमध्ये अधिकांश कार्यक्रम अघिल्ला वर्षदेखि चल्दै आएका र १० लाख वा सोभन्दा कम बजेटमा यसै वर्ष सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । तर राजनीतिक पूर्वाग्रह र बहुमतको दम्बले यी कार्यक्रम नै अलपत्र पार्नेगरी योजना गायब गराइएको हो । यस्तो समस्या वडा नं २ मा मात्रै नभएर धेरै वडामा भएको भन्दै नगरसभा सदस्यहरू नगरपालिका नेतृत्वप्रति आक्रोशित बन्ने गरेका छन् ।