काठमाडौं खबर साउन ७, २०८१
काठमाडौं । काठमाडौंको कपन र सुन्दरीजल क्षेत्रमा सोमबार बिहानैदेखि भारी वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यी क्षेत्रमा बिहानैदेखि भारी वर्षा भइरहेको छ र यो झनै बढ्न सक्ने सम्भावना रहेको छ ।
काठमाडौंका साना ठूला नदी मुहान क्षेत्रमा भएको भारी वर्षाका कारण बाग्मती, विष्णुमती, धोबीखोला जस्ता साना ठूला नदी किनारमा पानीको बहाब झनै बढ्न सक्ने भन्दै सचेत रहन महाशाखाले आग्रह गरेको छ ।
महाशाखाको रेकर्डअनुसार पछिल्लो ६ घण्टामा काठमाडौंको कपनमा ४७ मिलिमिटर र सुन्दरीजलमा ४१.२ मिलिमिटर वर्षा भएको छ । पानीपोखरीमा २५ मिलिमिटर वर्षा भएको छ । यी क्षेत्रमा दिउँसो पनि भारी वर्षा हुने सम्भावना महाशाखाले देखाएको छ ।