काठमाडौं खबर साउन ५, २०८१
काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले एउटै ल्होसार कार्यक्रममा ११ लाख अनियमितता गरेको पुष्टि भएको छ । मीठाराम अधिकारी मेयर बनेर आएपछिको पहिलो आर्थिक वर्षमा नै एउटै ल्होसार कार्यक्रममा ११ लाख अनियमितता गरेको भेटिएको हो । अनियमित खर्च गर्नका लागि सांस्कृतिक पर्व खर्च शीर्षक र अबण्डा बजेटबाट समेत भुक्तानी भएको देखिएको छ।
नियम अनुसार २५ हजार रुपैयाँभन्दा धेरै भुक्तानी गर्दा एसी चेक दिनुपर्ने भन्ने नियम भए पनि बेरर चेकबाट भुक्तानी गरेको लगायत अनियमितता भएको देखिएको हो । महालेखाको पछिल्लो विवरण अनुसार सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२३ (८) मा आपूर्तिकर्ता, निर्माण व्यवसायी, सेवा प्रदायक वा परामर्शदातालाई पच्चीस हजारभन्दा बढी रकम भुक्तानी गर्दा एकाउन्टपेयी चेकको माध्यमबाट भुक्तानी गर्नु पर्ने व्यवस्था उल्लेख छ ।
पालिकाले भौचर नं १४६६,१।२१ मा वडा नं १ का वडा अध्यक्ष सुरेन्द्र लामाको पेश्की फछ्यौट गरी तमु ल्होसार र ग्याल्बो ल्होसार कार्यक्रम सञ्चालनको खर्चमा माँ लक्ष्मी डेकोरेशनलाई रु दुई लाख ९२ हजार ६७१, समरेशन ट्रस्टलाई रु दुई लाख ८९ हजार ४२६, बुढानीलकण्ठ पार्टी प्यालेसलाई रु चार लाख ९७ हजार २०० र अन्य फुटकर खर्च रु २६ हजार गरी कुल खर्च रु ११ लाख पाँच हजार ६६ । नियम विपरीतलाई भुक्तानी नगरी नीति निर्माण तहका जनप्रतिनिधिलाई भुक्तानी भएको खर्च रकम नियमसम्मत नभएको महालेखाले जनाएको छ ।
खर्चका बिलहरुको भ्याट बाहेकको कुल खर्च रकम रु नौ लाख ८१ हजार १३० मा अग्रिम कर १.५ प्रतिशतका दरमा रु.१४ हजार ७१७।- कट्टा हुनुपर्नेमा रु.आठ हजार ६१७ मात्र कट्टा भएकोले नपुग कर रु.६ हजार असुल हुनुपर्ने उल्लेख महालेखाको छ । बुढानीलकण्ठ पार्टी प्यालेसको २०७९ माघ ९ को विजक नं ५२ ( हातले लेखेको) बाट भुक्तानी रकम रु.चार लाख ९७ हजार २०० मा भ्याट रु.५७ हजार २००।- को कर समायोजन पत्र पेश हुनुपर्ने अन्यथा असुल हुनुपर्ने रु. माँ लक्ष्मी डेकोरेशनलाई रु. दुई लाख ९२ हजार ६७१ भुक्तानीमा आगामी वर्षको मिति २०८० फागुन २७ उल्लेख भएकोले कार्यक्रमसँग सम्बन्धित खर्चहरु बास्तविक हुन् भन्नेमा विस्वस्त हुन नसकिएको बताइएको छ।
मिति २०७९ माघ ८ मा कार्यक्रम भएको उल्लेख भए पनि कार्यक्रमको विस्तृत विवरण, कार्यतालिका, उपस्थिति संख्या, प्रमुख अतिथि, कार्यक्रम सञ्चालनको विवरण र उपलब्धिसहितको कार्यक्रम प्रतिबेदन संलग्न नभएकाले कार्यक्रम सञ्चालन मितव्ययी र पारदर्शी रुपमा सम्पन्न भयो भन्न सकिने आधार नभएको प्रतिवेदनमा उल्लेख छ। यसरी समग्रमा सो कार्यक्रममा मात्रै ११ लाख ६८ हजार २६६ रुपैयाँ अनियमित भएको महालेखाको ठहर छ ।