

काठमाडौँ । उपभोक्ताले महँगो तिरेर पनि ताजा तरकारी उपभोग गर्न पाएका छैनन् । लगातारको वर्षाका कारण उपत्यकाबाहिरबाट पर्याप्त तरकारी नआएकाले उपत्यकावासीले तरकारी खान पाएका छैनन् । बुधबार साँझपख सानेपाबाट तरकारी किन्न कालीमाटी बजारमा आइपुगेका विष्णुप्रसाद अधिकारी बजारमा किन्ने तरकारी नदेखेपछि निराश भएर फर्किए ।
बिहीबार आमाको वार्षिकी कार्यक्रमका लागि सस्तो तरकारी किन्न भतिजसहित कालीमाटी बजारमा आएका उनले भने, “आलुसहित अन्य हरियो तरकारी लैजाने भनेर दुई वटा स्कुटर लिएर आयौँ, बजारमा तरकारी नै छैन, आलु र तामा लिएर हिड्यौँ ।” उनी जस्तै ठूलो भर्याङको सरकारी विद्यालयका शिक्षिका मतिना पोखरेलले पनि कालीमाटीमा खोजे जस्तो तरकारी पाइनन् ।
देशकै ठूलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारका व्यापारीहरू केही दिनदेखि बजारमा असाध्यै कम तरकारी भित्रिएकाले बिहानै सकिने गरेको र साँझपख बजार आउने उपभोक्ता रित्तै फर्किनुपर्ने बताउँछन् । कालीमाटी तरकारी बजारका थोक व्यापारी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यको भान्सामा समेत साउन १ देखि तरकारी पाकेको छैन । उनका अनुसार यो समयमा चितवन, मकवानपुर, दोलखा, धादिङ, काभ्रे, नुवाकोट, तराईका बारा, पर्सा, सल्र्लाही, सप्तरी, महोत्तरीलगायतका ठाउँबाट तरकारी आउने गरेका छन् तर केही दिनदेखि तीमध्ये अधिकांश ठाउँबाट तरकारी भित्रिएको छैन । त्यसैले उपत्यकामा तरकारी अभाव भएको हो ।
यता वर्षाका कारण मकवानपुर भीमफेदी गाउँपालिका तरकारी किसान प्रमोद थापाले उत्पादन गरेको तरकारी सडक अवरुद्ध हुँदा बारीमै कुहिएको बताए । उनी आफ्नो फेसबुकमार्फत सिजनल तरकारी लौका, करेला, घिरौँला, तने बोडी, गोलभेँडा कुहिएर फाल्नुपरेको पीडा व्यक्त गरे । बारीमा बजार पठाउन तयार भएको तरकारी बिक्री गरेर धेरै कमाउने सपना बुनेका उनले सडक पहिरोले लगेसँगै चकनाचुर भएको आशय प्रकट गरे ।