काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले गरेको कालोपत्रे एक महिना पनि नपुग्दै कालोपत्रे उप्किएको छ । नगरपालिकाको बजेटमा गत जेठमा सम्झौता गरेर गरिएको वडा नं १३ को कालोपत्रे सडक एक महिना पनि नपुग्दै उप्किएपछि स्थानीय आक्रोशित बनेका छन् ।
वडा नं. १३ चुनिखेल नयाँ बस्तीमा रहेको पिक प्वाइन्ट स्कुलबाट लोहहिटी जाने बाटोमा गुणस्तरहीन निर्माण सामग्री र नगरपालिकाको लापरबाहीका कारण एक महिनामै बाटो बिग्रिएको स्थानीयको आरोप छ ।
१५० मिटर लम्बाई र ४ मिटर चौडा सडक निर्माणका लागि भ्याट र पीएससहित नौ लाख ६५ हजार आठ सय २७ रुपैयाँ नगरपालिकाले दिने गरी अनुप निर्माण सेवासँग जेठ १४ गते सम्झौता गरेको थियो । सम्झौताको ठीक एक महिना अर्थात् असार १५ गते निर्माण सम्पन्न भएको सोही स्थानमा नगरपालिकाले राखेको सूचना पाटीमा उल्लेख छ ।
निर्माण सम्पन्न भएको १५ दिन पनि नटिकी कालोपत्रे उप्किएपछि नगरपालिकाको ठेक्का प्रणालीमाथि नै प्रश्न चिह्न खडा भएको छ । कामको उचित अनुगमन नहुनु र जेठ, असार बाटो पिच गर्ने उपयुक्त समय नभएको थाहा हुँदा हुँदै वडा र नगरपालिकाबाट अन्तिम समयमा योजना अघि बढाइएकोमा स्थानीयले आपत्ति जनाएका छन् ।