काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले विधि प्रक्रिया र आवश्यक कागजात समेत पूरा नगरी स्काउट तालिमको नाममा लाखौं रुपैयाँ दुरुपयोग गरेको भेटिएको छ । महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/८० को जेठ महिनामा ककनीमा ४५ जनालाई स्काउट तालिम दिएको नाममा ५ लाख रुपैयाँ अनियमित खर्च गरेको देखिएको हो ।
सो कामलाई महालेखाले बेरुजुमा राखेको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३९ को १० मा जिम्मेवार व्यक्तिले सरकारी रकमको खर्च लेख्नुअघि त्यस्तो रकम खर्च गर्न आवश्यक प्रमाण कागजात संलग्न भए वा नभएको तथा संलग्न कागजातको आधारमा मात्र भुक्तानी दिन रित पुगे वा नपुगेको जाँच गरेर मात्र भुक्तानी दिनुपर्नेमा न्यूनतम आवश्यक कागजातहरू समेत नबुझाई भुक्तानी लिएको देखिएको हो ।
पालिकाले भौचर नं २२२१,३।३१ मा ईन्द्र प्रसाद दाहालको नाममा पेश्की फछ्यौट गरेको थियो । जसमा कारण स्काउट आधारभूत तालिम लेखिएको थियो । कार्यक्रम जेठ १६ देखि २१ सम्म ककनीमा आयोजना गरिएको थियो । जसमा ४५ जना सहभागी र ५ जना प्रशिक्षक उल्लेख गरी खर्च भुक्तानी रु ५ लाख गरिएको थियो । तर त्यसमा ४५ जना कसरी छनोट भए ? प्रशिक्षक को-को थिए ? उनीहरूले कति-कति शुल्क पाए ? जस्ता विवरणहरू समेत नलेखी भुक्तानी दिनुले यो स्वत: अनियमितता भएको महालेखाको निष्कर्ष छ ।
महालेखाको प्रतिवेदनमा भनिएको छ: ‘कार्यक्रममा ४५ जनालाई पोषाक खर्च शीर्षकमा एक लाख तीन हजार ७४० रुपैयाँ भुक्तानीको भर्पाईमा के कति बुझिलिएको विवरण नखुलेको र यातायात खर्च रु ३२ हजार ४०० भुक्तानीमा कसलाई कुन दरमा वितरण भएको हो सोको भर्पाई समेत समावेश नभएको तथा प्रशिक्षक खर्च रु ७२ हजार भुक्तानीमा कसले के विषय पढाए ? कति समय अवधिमा कक्षा सेसन सञ्चालन भएको हो ? सोको कार्यपत्र समेत समावेश नभएकाले सो कार्यक्रम लक्ष्यअनुसार नै प्रभावकारी ढंगमा मितव्ययी तरिकाले सम्पन्न भए वा भएन यकिन हुन सकिएन ।’