

३१ साउन, काठमाडौं । देशमा नयाँ प्रधानमन्त्री नियुक्त भएसँगै मन्त्रीमण्डलमा पनि केही नयाँ अनुहारहरू देखा परेका छन् । तीमध्ये सबैभन्दा आशा गरिएको अनुहार चाहिँ स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल हुन् भन्दा फरक पर्दैन । मन्त्रीमा नियुक्त भएसँगै उनले एक महिनाभित्र सरकारी अस्पतालमा सेवा लिन लाइन लाग्न नपर्ने व्यवस्था गर्ने बताएका छन् । यसलाई आम नागरिकहरूले आशालाग्दो प्रदीपका रूपमा हेर्ने गरेका छन् ।
मन्त्री पौडेलले एक हप्ताभित्र तत्कालीन र दीर्घकालीन कामहरूको सूची सार्वजनिक गर्ने बताएका छन् । उनले आगामी १ साताभित्र ३ महिने, ६ महिने र एक वर्षे कार्यक्रम सार्वजनिक गर्ने उल्लेख गरेका छन् ।
पछिल्लो समयमा नेपाली काँग्रसमा महामन्त्री गगन थापाका कित्तामा रहेका प्रदीप पौडेल थापाकै पहलमा काठमाडौं ५ को टिकट पाएका थिए र थापाकै सहयोगमा विजयीसमेत भएका थिए । अहिले पनि थापासँगकै सहकार्यमा उनले डेलिभरी दिने योजनासहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रोजेको बताइएको छ ।
वर्तमान काँग्रेस महामन्त्री गगन थापाले पनि एकपटक मन्त्री हुँदा स्वास्थ्य मन्त्रालय सम्हालेका थिए । त्यतिबेला उनले ल्याएको स्वास्थ्य बीमा कार्यक्रमलाई स्वास्थ्य क्षेत्रमा भएगरेका उल्लेख्य कामहरूमध्ये १ मानिन्छ । प्रदीपले पनि गगनबाट सुरु गरिएको सो कार्यक्रमलाई बढावा दिने, स्वास्थ्य बीमा बोर्डको दायरा बढाउने, स्वास्थ्य सेवालाई सुलभ र प्रभावकारी बनाउन आवश्यक नीतिगत तथा कानुनी व्यवस्था गर्ने लगायतका कार्य गर्न सक्नेछन् । स्वास्थ्य मन्त्रीमा नियुक्त उनलाई गगनपथमा अघि बढ्ने र गगन थापाले तयार गरेका योजनाहरूलाई थप बढावा दिँदै पूरा गरी उचित डेलिभरी दिन सक्ने मन्त्रीका रूपमा हेरिएको छ ।