

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकामा कर उठाउन बाँकी करदाताको सूची बुढानीलकण्ठ नगरपालिकाले नै लुकाएको भेटिएको छ । महालेखाका अधिकारीहरु नगरपालिकामात्रै नभएर वडावडामा पुगेर समेत करदाताको सूची माग गर्दा पनि उपलब्ध नगराएको महालेखाको पछिल्लो प्रतिवेदनमा उल्लेख छ ।
नगरपालिकालाई आउनुपर्ने करोडौंको राजस्व यसरी नै मिलेमतोमा चुहावट भइरहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष २०७९।८० को लेखापरीक्षण प्रतिवेदनमा महालेखाले पालिकासँग पालिकाभर राजस्व बुझाउन सम्भाव्य भएको तर करको दायरामा नआएका करदाता, उद्योग, होटल, अस्पताल आदिको बारेमा नगरप्रमुखसहितको बैठकमा पटकपटक माग गरिएको भए पनि उपलब्ध नगराएको आरोप महालेखाको छ ।
त्यस्तै, वडामा डोर गएर वडाध्यक्षहरुसँग सोको विवरण माग्दा वडाध्यक्षहरुले समेत यसको विवरण दिन अनुरोध गर्दा पनि वडाध्यक्षहरुले समेत विवरण नदिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । बुनपामा पर्ने पार्क भिलेज, न्यूरो अस्पताल जस्ता सम्भावित ठूला करदाताले समेत कर तिरेको विवरण नभेटेपछि महालेखाले यसको माग गरेको थियो । तर पालिका अध्यक्ष, वडाध्यक्ष लगायतले विवरण समेत दिन इन्कार गरेपछि यहाँ मिलेमतोको आशंका देखिएको छ ।